Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

राष्ट्रिय  आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइयो

उद्‌घोष संवाददाता
२ कार्तिक २०८२, आइतवार

​विराटनगर। ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने मूल मन्त्रका साथ विराटनगरमा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती भव्यताका साथ  मनाइएको छ। आधारभूत आयुर्वेद स्वास्थ्य केन्द्र विराटनगर -११ र विराटनगर महानगरपालिकाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

​कार्यक्रममा बोल्दै पतन्जली योग समिति कोशी प्रदेश सचिव शोभा कोइरालाले हिन्दू सनातन परम्परा अत्यन्त वैज्ञानिक भएको चर्चा गर्दै देवताका वैद्य भगवान् धन्वन्तरीको महत्वबारे प्रकाश पारिन्। उनले आयुर्वेदको प्राचीनता र वैज्ञानिकतालाई जोड दिँदै आफ्नो स्वास्थ्यको जिम्मेवारी आफैँले लिनुपर्ने सन्देश दिइन्।
​कार्यक्रमका आयोजक  विराटनगर-११ का वडा अध्यक्ष तीर्थेन्द्र न्यौपानेले आधारभूत आयुर्वेद स्वास्थ्य केन्द्र विराटनगर -११ को स्थापना निवर्तमान महानगरपालिका प्रमुख भीम पराजुलीकै पालामा भएको र स्थापनाकालदेखि नै यो दिवस मनाउँदै आएको जानकारी दिए। यस दिवसलाई निरन्तरता दिँदै जनतालाई आरोग्यबारे सचेत गराउनु आफ्नो दायित्व रहेको उनले बताए।

​कार्यक्रममा महानगर स्वास्थ्य शाखा प्रमुख पुनम कर्ण, स्वास्थ्य अधिकृत मीना अधिकारी, पतन्जली योग  विराटनगर महानगर  समितिका अध्यक्ष माधव अधिकारी  लगायतले राष्ट्रिय आरोग्य दिवसको महत्व र आयुर्वेदले मानव स्वास्थ्यमा पुर्‍याउने अतुलनीय योगदानका विषयमाथि चर्चा गरेका थिए ।

त्यसैगरी नेपाल आयुर्वेद स्वास्थ्य कर्मी समाज कोशी प्रदेशले पनि रमाइलो उपहार कार्यक्रमसहित धन्वन्तरी दिवस मनाएको कोशी प्रदेश अध्यक्ष बरिष्ठ कविराज वैजनाथ साहले बताए । कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष महेश थापा ,  महिला पतन्जली योग समिति  मोरङ अध्यक्ष सूची चौधरी , विराटनगर महानगर सल्लाहकार प्रेमप्रसाद रिजाल लगायतले  मेरो स्वास्थ्य मेरो जीम्मेवारीका बारेमा चर्चा गरेका थिए।

हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको जयन्तीको अवसर पारेर यो दिवस मनाउने गरिन्छ।

View : 528

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved