Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

अंग्रेजी, गणित र विज्ञानका शिक्षकलाई तालिम

उद्‌घोष संवाददाता
८ पुष २०८२, मङ्गलवार

विराटनगर । कोशी प्रदेशका कक्षा ९ देखि १२ सम्म अध्यापन गर्ने अंग्रेजी, गणित र विज्ञान विषयका ९० जना शिक्षकहरूलाई प्रश्नपत्र निर्माणसम्बन्धि सीप विकास नतिजा विश्लेषणसम्बन्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको आयोजना, गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघको सहयोगमा शिक्षकहरूलाई विषयगत ज्ञान र सीप अभिबृद्धिका लागि सोमबारदेखि प्रशिक्षक प्रशिक्षण सुरू भएको जनाइएको छ । 

सुनसरीको इटहरीमा आयोजित प्रशिक्षक तीन दिन सञ्चालन हुने कार्यक्रम संयोजक तथा राष्ट्रिय परीक्षा बोर्डका उपनिर्देशक सुभाष पन्तले जानकारी दिए ।

बोर्डले पछिल्लो समय कक्षा ९ देखि १२ सम्म अंग्रेजी, गणित र विज्ञान विषयको नतिजा खस्कँदो अवस्थामा देखिएकोले आर्थिक वर्ष २०८२–८३ को बार्षिक कार्यक्रम अनुसार देशैभरिका पाँच सय विद्यालयका विषयगत शिक्षकहरूलाई अभिमुखीकरण सुरू गरिएको उनले बताए ।

बोर्डले आगामी आर्थिक वर्षसम्म देशभरका सवै स्थानीय तहका अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण प्रदान गर्ने जनाइएको छ । 

कोशी प्रदेशस्तरमा आयोजित कार्यक्रममा प्राडा गणेशबहादुर सिंह, डा. मोहन पौडेल, सुभाष पन्त, विश्व जोशी, सुशील खनाल लगायतले शिक्षकहरूलाई प्रशिक्षणका विषयमा सहजीकरण गर्ने जनाइएको छ ।

इटहरीमा आयोजित प्रशिक्षण उद्घाटनमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले अबको शिक्षा प्रविधिमैत्री, सीपमूलक, व्यावहारिक र ‘ग्लोबल’ शिक्षा आवश्यक रहेको बताए । त्यसका लागि शिक्षकहरूले मेहनत गर्नुपर्नेमा जोड दिए । 

प्रश्नपत्र निर्माण, विश्लेषण, नतिजा प्रकाशन, प्रश्नपत्रको गोपनियता, विश्वसनीयता तथा स्तरीय प्रश्नपत्र भएमा मात्रै विद्यार्थीहरूको गुणस्तरमा वृद्धि हुने उनले बताए । 

सहभागी शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान र सीपका माध्यमबाट विद्यालय तथा पालिकाभित्रका अन्य शिक्षकहरूलाई सहजीकरण गर्ने जनाइएको छ ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेश प्रमुख दामोदर चापागाईं, शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिग्राम दाहाल लगायतको उपस्थिति थियो ।

View : 192

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved