विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुनसरीको क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका लालविक्रम थापाविरुद्ध लाखौं रकम बेरुजु भेटिएको छ ।
इटहरी–९ स्थित जनता माध्यमिक विद्यालय (जनता स्कुल) को दुई कठ्ठा जग्गा २०६१ साउन १ देखि थापाले आफ्नो कम्पनी सन मुन प्लाजा कम्पनीको नामबाट भाडामा लिएर विद्यालयलाई तिर्नुपर्ने ७४ लाख १५० रुपैयाँ अहिलेसम्म नतिरेको भेटिएको हो ।
उक्त रकम बेरुजु सरह असुलउपर गर्नुपर्ने देखिएपछि थापा विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी खारेजीको माग गर्दै दाबी विरोधको उजुरी परेको जनाइएको छ ।
थापाविरुद्ध अर्का उम्मेदवार सत्यनारायण पण्डितले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् । उक्त उजुरी उपर कार्यालयले बिहीबार निर्णय गर्नेछ ।
निवेदक पण्डितले निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद १० (विविध) ४२ नम्बर बुँदामा उम्मेदवारले बेरुजु फछ्र्यौट गर्नुपर्ने उल्लेख गरिएको भन्दै थापाले सो कार्य नगरेको दाबी गरी उम्मेदवारी खारेजीको माग गरेका छन् ।
थापा नै संचालक रहेको सनमुन प्लाजा कम्पनी र जनता माविबिच दुई कठ्ठा जग्गा भाडामा लिने दिने सम्झौता भएको थियो ।
सम्झौता अनुसार उनले विद्यालयलाई मासिक १ लाख ७ हजार ५०१ रुपैयाँ बुझाउनुपर्ने उल्लेख रहेको छ । सोही विषयमा उनी विरुद्ध अख्तियारमा समेत उजुरी परेर छानबिन चलिरहेको जनाइएको छ ।
भाडाको विषयमा विवाद भएपछि थापाले सन मुन प्लाजा कम्पनीबाट आफ्नो नाम चलाखीपूर्ण रुपमा हटाएको आरोप स्थानीयले लगाउँदै आएका छन् ।
भाडा विवाद समाधानको माग गर्दै उक्त कम्पनीको अध्यक्षमा गणेश प्रसाद कोइरालाको नाममा हस्ताक्षर गरिएको निवेदन कम्पनीको तर्फबाट इटहरी उपमहानगरपालिकामा पेश गरिएको पाइएको छ । तर आन्तरिक राजश्व कार्यालयमा भने उनकै नाममा कम्पनी स्थापना भएको कागजात रहेको उजुरीकर्ताको दाबी छ ।
जग्गा भाडा लिएर विद्यालयलाई सम्झौता अनुसारको भाडा नबुझाएपछि सन मुन प्लाजाका संचालक रहेका रास्वपाका तत्कालिन कोशी प्रदेश महामन्त्री थापा विवादमा आएका थिए ।
सार्वजनिक लेखापरिक्षणमा थापाले विद्यालयलाई ७२ लाख बढी रकम तिर्नुपर्ने स्पष्ट किटान भएको जनाइएको छ ।
यो विवादका कारण थापा रास्वपाको कोशी प्रदेश महामन्त्रीबाट निलम्बनमा समेत परेका थिए ।
उनले निलम्बन फुकुवाका लागि आफन्तहरू रमा खत्री र अस्मिता खड्कालाई अघि सारेर कागजी रुपमा मात्र प्लाजाबाट अलग भएका थिए । कागजी रुपमा अलग भएपनि उक्त जग्गामा बनेका सटरबाट थापाले नै मासिक भाडा उठाएका थिए ।
View : 177
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved