Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

सहमतिविना निर्वाचन सम्भव छैन, नयाँ दलहरू विचारहीन छन् : घनश्याम भुसाल

उद्‌घोष संवाददाता
१२ पुष २०८२, शनिवार

विराटनगर, । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष एवं पूर्वमन्त्री घनश्याम भुसालले राजनीतिक दलहरूबीच ठोस सहमति नभई मुलुकमा निर्वाचन हुनु कठिन रहेको बताउनुभएको छ। विराटनगरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले निर्वाचनको चाहना सबैमा भए पनि त्यसका लागि आवश्यक राजनीतिक वातावरण अझै तयार भई नसकेको उल्लेख गर्नुभयो।

नेता भुसालले पछिल्लो समय उदाएका नयाँ राजनीतिक दल र तिनका नेतृत्वमाथि कडा टिप्पणी गर्नुभयो। उनीहरूलाई 'विचारहीन' को संज्ञा दिँदै भुसालले भन्नुभयो, "नयाँ दलहरूमा पद, व्यक्ति र सिटबाहेक राष्ट्र निर्माणको कुनै भिजन छैन। उनीहरू दिशाहीन जहाज जस्तै भएका छन् र पुराना नेताहरूकै अर्को संस्करणका रूपमा देखिएका छन्।"

 भदौमा भएको 'जेनजी आन्दोलन'को प्रसङ्ग उठाउँदै नेता भुसालले युवाहरूको भावना 'अपहरण' भएको बताउनुभयो। आन्दोलनपछि दलहरूमा सुधार आउने अपेक्षा गरिए पनि हिजो मुलुकलाई सङ्कटमा पुर्‍याउनेहरू नै पुनः नेतृत्वमा फर्किएकाले युवाहरूको एजेन्डा ओझेलमा परेको उहाँको तर्क थियो।

नेपाली कम्युनिष्ट आन्दोलनलाई सही दिशामा ल्याउन केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' दुवैले नेतृत्व छाड्नुपर्ने भुसालको दाबी छ। "यी दुई नेताले नेतृत्व हस्तान्तरण गर्ने हो भने कम्युनिष्ट एकता सम्भव छ," उहाँले भन्नुभयो, "पुरानो नेतृत्वको असफलताकै कारण समाजमा नयाँको खोजी भएको हो।"

नेकपा संयुक्तको कोशी प्रदेशस्तरीय विस्तारित भेलामा सहभागी हुन आउनुभएका भुसालसँगै पत्रकार सम्मेलनमा नेता महेश रेग्मी र हरि काफ्लेको पनि उपस्थिति थियो। नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको एकताप्रति असहमति जनाउँदै भुसालको नेतृत्वमा 'नेकपा संयुक्त' पुनर्गठन गरिएको हो।

View : 252

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved