विराटनगर । उपचारका क्रममा कोशी अस्पताल विराटनगरबाट भागेका एक कैदी एक सातापछि पक्राउ परेका छन् । साउन १७ गते बिहान ड्युटीमा रहेका प्रहरीलाई ठेलेर भागेका कैदी बिहीबार पक्राउ परेका हुन् ।
जबरजस्ती करणी मुद्दामा अदालतबाट १२ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकिएपछि जेलमा रहेका विराटनगर–८ निवासी २४ वर्षीय मोहम्मद अहमद पेट दुखेको बहाना गरेर गत १५ गते अस्पताल भर्ना भएका थिए ।
शौचालय जाने क्रममा बिहान सवा ५ बजेतिर सुरक्षामा रहेका प्रहरीलाई झुक्याएर उनी फरार भएका थिए ।
उनलाई नेपाल– भारत सीमावर्ती मोरङको जहदा–१ तारेगामाबाट नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठका अनुसार उनलाई खोजतलास गर्ने क्रममा सीमावर्ती क्षेत्रमा हिँडिरहेको अवस्थामा प्रहरी निरीक्षक प्रकाश थापा नेतृत्वको सुरक्षाकर्मी टोलीले पक्राउ गरेको हो ।
२०७९ फागुन २९ गतेबाट अहमद मोरङ कारागारमा कैद भुक्तान गरिरहेका छन् । अस्पतालबाट भाग्ने बित्तिकै चारै तर्फबाट प्रहरीले उनको खोजी गरेको थियो । उनी सीमा पारि भारत तर्फ भागेका थिए ।
स्रोतका अनुसार नेपाल प्रहरीको अनुरोधमा भारतीय समकक्षी प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिन प्रयास गरिएको थियो ।
पक्राउ परेका अहमदलाई आजै मोरङ कारागारमा पुन: चलान गर्ने तयारी प्रहरीले गरेको जनाइएको छ ।
View : 295
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved