विराटनगर । माछापुच्छ्रे सहकारी संस्था विराटनगरका सञ्चालक र कर्मचारी गरी २० जनाबिरूद्ध पक्राउ पुर्जी जारी भएको छ । संस्थाका अध्यक्ष अमलेश कर्ण भने पक्राउ परिसकेका छन् । जिल्ला अदालत मोरङबाट आइतबार पक्राउ पुर्जी जारी भएपछि प्रहरीले फरार ब्यक्तिहरूको खोजी जारी राखेको जनाएको छ ।
सर्वसाधारणको करिव ९ करोड रूपैंयाँ ठगी गरेको आरोपमा अध्यक्ष कर्ण पक्राउ परेपछि उनको बयानका आधारमा अन्य आरोपीबिरूद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ ।
प्रहरीले खोजी गरिरहेका सञ्चालक सञ्जय थापा, कोषाध्यक्ष राधादेवी लिम्बू र ब्यवस्थापक अमित कार्कीलगायत बिरूद्ध पक्राउ पुर्जी जारी भएको हो ।
पुरानो समितिले संस्थाको रकम हिनामिना गरेपछि नयाँ सञ्चालक बनेकाहरू बिरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
नयाँ सञ्चालकहरूमा उत्तम ढुंगेल, सनातन मण्डल, तीर्थप्रसाद यादव, श्याम कोइराला र लेखा समितिका पङ्कज बर्मा छन् । संस्थाको रकम हिनामिना गरेको पाइएपछि नयाँ आएका सञ्चालकले अध्यक्ष कर्ण, कोषाध्यक्ष लिम्बू र ब्यवस्थापक कार्कीको सम्पत्ति रोक्का गराएका थिए ।
अध्यक्षसहित सञ्चालक भागेपछि बन्द रहेको सहकारीलाई नयाँ सञ्चालकले केही रकम लगानी गरेर सञ्चालनमा ल्याएका थिए ।
बिगत १५ वर्षदेखि अध्यक्ष कर्ण, सचिव थापा र ब्यवस्थापक कार्कीले एउटै पदमा बसेर रकम हिनामिना गरेको छानबिनबाट देखिएको छ । कार्कीले सहकारीमा बचत भएको करिब ५ करोड रूपैयाँ आफ्नो निजी खातामा जम्मा गरेर ब्यक्तिगत कारोबार गर्दै आएका थिए ।
हाल फरार रहेका नयाँ सञ्चालक उत्तम ढुंगेलका अनुसार सहकारीको उठ्न नसक्ने करिव ४ करोड रूपैयाँ बजारमा छरिएको छ ।
कर्ण, थापा र कार्कीले बिना धितो आफू नजिकका मानिसलाई ऋण लगानी गरेको देखिएको छ । विराटनगरका हिमकुमारी लिम्बूले ५ लाख ५३ हजार, कुमार श्रेष्ठले १२ लाख २ हजार, दीपेन्द्र क्षेत्रीले १४ लाख ३४ हजार, रोनिकल कटवालले ३ लाख ६५ हजार, अरबिन्द दासले १० लाख, आशिष खनालले ७ लाख बिना धितो ऋण लिएको देखिएको छ ।
हाल सहकारी सञ्चालक रहेका उत्तम ढुंगेलले आफूहरूलाई कम्पनी नाफामा गएको झुटो विवरण देखाएर साथीहरूले फसाएको बताएका छन् ।
View : 203
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved