काठमाडौँ । बिहीबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
साथै तराईका धेरै स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार बिहीबार दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी आज राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहने छ ।
तराई क्षेत्रमा धेरै ठाउँमा शुक्रबार बिहानसम्मै हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
देशको पूर्वदेखि पश्चिम तराईमा दिनभर हुस्सु कुहिरोको कारण तापक्रम घट्न गई चिसो बढेको जनाएको छ । जसका कारण दैनिक जनजिवन, स्वास्थ्य, यातायात लगायतका क्षेत्रहरु प्रभावित हुने विभागले जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान काठमाडौंको न्यूनतम तापक्रम निकै घटेको छ । अन्य दिनको तुलनामा काठमाडाैँमा तापक्रम घटेका कारण बिहीबार विहानैदेखि बढी चिसो महशुस भएको जनाइएको छ ।
बिहीबार बिहान ६ बजे काठमाडौंको न्यूनत तापक्रम ४.५ डिग्री सेल्सियसमा आइपुगेको जनाइएको छ ।
View : 49
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved