Biratnagar, Morang, Nepal
५ असार २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
खेलकुद

विश्वकप फुटबल २०२६ :

रोनाल्डोका लागि बिर्सनलायक पहिलो खेल

उद्‌घोष संवाददाता
५ असार २०८३, शुक्रवार

Advertisement

विराटनगर । अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६ मा सहभागी ४८ वटै टिमले आफ्नो पहिलो खेल खेलेका छन् ।

बिहीबार बिहान कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ को जित दर्ता गरेसँगै विश्वकपमा सहभागी ४८ वटै राष्ट्रले आफ्नो पहिले  खेल खेलिसकेका हुन् ।  

बीबीसी स्पोर्टका विज्ञहरूको समूहले पहिलो चरणको खेल हेरेपछि तयार पारेको वरियताअनुसार उपाधिका दाबेदार मानिएका देशहरूले आफ्नो साख जोगाएका छन् । 
फ्रान्स, जसले सेनेगललाई ३–१ ले हरायो, अहिले वरियताको शीर्ष स्थानमा छ । 

दोस्रो हाफमा फ्रान्सले देखाएको प्रदर्शन र टोलीको सन्तुलनले उनीहरूलाई उपाधिको प्रमुख दाबेदार बनाएको छ । त्यस्तै, ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्यान्ड दोस्रो स्थानमा छ भने लिओनल मेसीको जादुमय लयका कारण अर्जेन्टिना तेस्रो स्थानमा रहन सफल भएको छ । 

जर्मनीले कुरासाओविरुद्ध ७–१ को फराकिलो जित निकाल्दै चौथो र घरेलु मैदानमा खेलिरहेको अमेरिका पाँचौं स्थानमा छ ।

वरियतामा शीर्ष १० भित्र नर्वे, कोलम्बिया, मोरक्को, ब्राजिल र स्वीडेन परेका छन् । 

नर्वेका एर्लिङ हालान्डको शक्तिशाली प्रदर्शनले टोलीलाई निकै माथि उठाएको छ । यद्यपि, ब्राजिल र मोरक्कोबीचको १–१ को बराबरीले धेरैलाई आश्चर्यमा पारेको छ ।

विश्वकपको पहिलो चरण व्यक्तिगत उपलब्धिहरूको हिसाबले ऐतिहासिक रह्यो । 

अर्जेन्टिनाका कप्तान मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासमा सर्वाधिक १६ गोलको कीर्तिमान बनाउँदै मिरोस्लाभ क्लोजको रेकर्डसँग बराबरी गरेका छन् । 

अर्कोतर्फ, फ्रान्सका किलियन एम्बाप्पेले सेनेगलविरुद्ध २ गोल गर्दै राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन् । 

तर, सबै स्टार खेलाडीहरूका लागि समय अनुकूल रहेन । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका लागि  पहिलो खेल निकै निराशाजनक रह्यो । 

डीआर कंगोसँग १–१ को बराबरीमा रोकिएको खेलमा रोनाल्डो गोल गर्न मात्र चुकेनन्, खेलको अन्त्यतिर ब्रुनो फर्नान्डेजका लागि आएको पासमा अवरोध पुर्याएको आरोप खेप्नुप¥यो । 

फ्रान्सका पूर्व स्ट्राइकर थिएरी हेनरीले रोनाल्डोको उक्त कदमलाई ‘स्वार्थ’को संज्ञा दिदै टोलीको जितका लागि व्यक्तिगत अहम् त्याग्नुपर्ने टिप्पणी गरेका छन् । 

४१ वर्षको उमेरमा पनि मैदानमा जमेका रोनाल्डोको प्रदर्शन र प्रशिक्षक रोबर्टो मार्टिनेजको रणनीति अहिले विश्व फुटबलमा आलोचनाको केन्द्र बनेको छ ।

यसपटकको विश्वकपमा ४८ टोलीको सहभागिताले केही रोचक नतिजाहरू पनि देखाएको छ । पहिलो चरणका २४ खेलमध्ये ९ खेल बराबरीमा टुंगिनुले कुनै पनि टोलीलाई कमजोर आक्न नहुने सन्देश दिएको छ । 

विशेषगरी, स्पेन जस्तो उपाधि दाबेदार टोली केप भर्डेसँग गोलरहित बराबरीमा रोकिनु पहिलो चरणको सबैभन्दा ठूलो ‘सरप्रसाइज’ थियो । 

केप भर्डेका गोलकिपर भोजिन्हाले स्पेनका हरेक आक्रमणलाई विफल पार्दै ऐतिहासिक प्रदर्शन गरेका थिए ।

त्यस्तै, अस्ट्रेलियाले टर्कीलाई हराएर सबैलाई चकित पार्यो भने स्कटल्यान्डले २८ वर्षपछिको विश्वकप दबाबबीच हाइटीविरुद्ध १–० को जित निकाल्दै आफ्नो पुनरागमनलाई सुखद बनायो । 

ट्युनिसियाले भने पहिलो खेलको खराब प्रदर्शनपछि आफ्नो म्यानेजरलाई नै बर्खास्त गर्ने कठोर कदम चालेको छ, जुन इतिहासमा निकै कम देख्न पाइन्छ ।

समूह ‘ए’ देखि ‘एल’ सम्मको समीकरण हेर्दा अबका खेलहरू थप प्रतिस्पर्धात्मक हुने देखिएका छन् । समूह ‘जी’ मा बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड सबैले समान १–१ अंक बाँड्नुले उक्त समूह कति प्रतिस्पर्धी छ भन्ने देखाउँछ । उता, मेक्सिको र दक्षिण कोरियाले ३–३ अंक जोडेर राम्रो सुरुवात गरेका छन् ।

२०२६ को विश्वकपको पहिलो चरणको खेलले व्यक्तिगत प्रतिभा र सामूहिक रणनीतिको एक उत्कृष्ट मिश्रण प्रस्तुत गरिरहेको छ । 

केही खेलाडीहरूले आफ्नो विरासत कायम राख्न संघर्ष गरिरहेका छन् भने युवा पुस्ताले ठूला मञ्चमा आफूलाई प्रमाणित गर्ने मौका पाइरहेका छन् । 

पहिलो चरणको समाप्तिसँगै अबको ध्यान दोस्रो चरणका खेलहरूमा केन्द्रित भएको छ, जहाँबाट नकआउट चरणको चित्र स्पष्ट हुनेछ ।

View : 59

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved