विराटनगरमा फौजदारी कानूनको आधारभूत तालिम
विराटनगर । मोरङको विराटनगरमा फौजदारी कानुनका विविध विषयमा केन्द्रित सातदिने आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।
नवप्रवेशी कानून व्यवसायीहरूको क्षमता विकास गर्ने उद्देश्यले आयोजित यो तालिम साउन १ गते नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रबाट उद्घाटन भएको थियो ।
तालिम समापन कार्यक्रम कानून व्यवसायी परिषदका अध्यक्ष तथा महान्यायाधिवक्ता केशव वडालको प्रमुख आतिथ्यमा र कानून व्यवसायी परिषद कोशी प्रदेशका पार्षद राजु ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रमुख अतिथि वडालले फौजदारी न्याय प्रणालीलाई थप व्यवस्थित, वैज्ञानिक, आधुनिक र पीडितमैत्री बनाउन फौजदारी संहितामा संशोधनको आवश्यकता रहेकोमा जोड दिए ।
उनले यस्ता कार्यक्रमहरू नवप्रवेशी कानून व्यवसायीहरूको क्षमता विकासका लागि महत्वपूर्ण रहेको भन्दै तालिम सफलतापूर्वक सम्पन्न भएकोमा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे ।
समापन कार्यक्रममा उच्च अदालत विराटनगरका माननीय मुख्य न्यायाधीश राजन प्रसाद भट्टराई, कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता नारायण वस्ति, मोरङ बार एसोसिएसनका अध्यक्ष हरिशंकर मण्डल, झापा बार एसोसिएसनका अध्यक्ष बसन्त नेपाल लगायत पूर्व पार्षदहरूको उपस्थिति थियो ।
सहभागीहरूको तर्फबाट मन्तव्य राख्दै झापा बार एसोसिएसनकी सहसचिव तथा झापा बार महिला समिति अध्यक्ष अधिवक्ता सानु कार्की बस्नेत "सिता" ले यस्ता तालिमबाट फौजदारी कानुनका विविध विषयमा सहभागीहरूलाई महत्वपूर्ण शिक्षा, ज्ञान र क्षमता प्राप्त भएको बताए ।
कानून व्यवसायी परिषद अन्तर्गतको 'लयर्स एकेडेमी समिति' को आयोजना र कानून व्यवसायी परिषद कोशी प्रदेश सम्पर्क कार्यालय विराटनगरको सह-आयोजनामा उच्च अदालत विराटनगर बार इकाइमा यो तालिम सञ्चालन भएको थियो ।
तालिममा फौजदारी कानूनका विज्ञ प्रशिक्षकहरू जसमा उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरू, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले प्रशिक्षण प्रदान गरेका थिए ।
मोरङ, सुनसरी, झापा लगायतका जिल्लाबाट ४५ जनाभन्दा बढी नवप्रवेशी कानून व्यवसायीहरूको सहभागिता रहेको अधिवक्ता बस्नेतले जानकारी दिए । यो तालिमले नयाँ कानून व्यवसायीहरूलाई फौजदारी न्याय प्रक्रिया बुझ्न र व्यावसायिक दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ ।
View : 319
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved