Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

तस्करका नयाँ–नयाँ फर्मूला

गाडीमा सरकारी नम्बर प्लेट राखेर गाँजा तस्करी

उद्‌घोष सम्वाददाता
२० मंसिर २०८१, बिहिवार

सुनसरी । सुनसरी प्रहरीले दुईवटा सरकारी नक्कली नम्बर प्लेट राखिएको गाडीबाट लैजादै गरेको करिब ७ सय केजी गाँजा बरामद गरेको छ । 

गाँजा बोकेका गाडी अख्तियार दुरूपयोग अनुसन्धान आयोग र कानून मन्त्रालयका गाडी नम्बरसँग मिलेको बताइएको छ । 

इलाका प्रहरी कार्यालय धरानको टोलीले उक्त गाडी नियन्त्रणमा लिनका लागि चार राउण्ड गोलीसमेत चलाएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

प्रहरीले सात सय किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिए पनि गाडीका चालक मध्ये एक जनालाई मात्र पक्राउ गरेको छ । 

कोशी राजमार्ग अन्तर्गत धनकुटाबाट गाँजा लिएर धरानतर्फ आउँदै गरेको सरकारी नक्कली नम्बर प्लेट भएको बा १ झ ४६०५ नम्बरको स्कारपियो र बा १ झ ५१२७ नम्बरको कार मंगलबार राति रोकेर जाँच गर्ने क्रममा प्रहरीले गोली चलाएको तिम्सिनाले जानकारी दिए । 

बा १ झ ४६०५ नम्बरको गाडी चालक मोरङको सुन्दरहरैंचा नगरपालिका–११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मा पक्राउ गरे पनि अर्का चालक गाडी छाडेर भागेको जनाएको छ । 

दुवै गाडी जाँच गर्दा ७ सय किलो गाँजा बरामद भएको र  प्रहरीको गोली प्रहारबाट ५१२७ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । 

नियन्त्रणमा लिएको गाडीहरू सरकारी नरहेको खुलेकोे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले बताए । 

उक्त नम्बरको गाडी अख्तियार दुरूपयोग अनुसन्धान आयोग र कानून मन्त्रालयमा सुरक्षित रहेको अनुसन्धानबाट पुष्टी भएको छ । 

सुनसरी प्रहरीले यसअघि एम्बुलेन्स, पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर, तरकारी बोक्ने गाडी र भारतीय नम्बर प्लेटको सवारी साधनबाट समेत ठूलो परिमाणमा गाँजा बरामद गरिसकेको छ । 

लागुऔषध गाँजाको ओसारपसार र कारोबारमा संलग्न गिरोहले यसको तस्करीका लागि नयाँ–नयाँ शैली अपनाउन थालेको भन्दै यसतर्फ पनि प्रहरीले निगरानी बढाएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश जबेगूले जानकारी दिए ।

View : 104

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved