विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिंदा कोशी प्रदेशबाट पदाधिकारीमा आकांक्षा राख्ने र उम्मेदवारी घोषणा गर्ने नेताहरूको लर्कै लाग्ने भएको छ । सचिव पदका लागि वर्तमान स्थायी कमिटीका सदस्यहरूदेखि केन्द्रीय सदस्यहरूसम्म छन् ।
कोशी प्रदेशबाट सचिव पदमा स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सल्लाहकार परिषद् सदस्य विनोद ढकालले सवैभन्दा सुरुमा आफ्नो उम्मेदवारीबारे स्पष्ट पारिसकेका छन् ।
स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राईले भने निर्विकल्प सचिवका रुपमा आफूलाई अघि सार्दै आएका छन् । वर्तमान कमिटीका सचिव योगेश भट्टराई भने माथिल्लो पदका दाबेदार हुन् ।
सचिव पदमा कार्की, राई, ढकालसहित स्थायी कमिटी सदस्यहरू अग्नि खरेल (झापा), भानुभक्त ढकाल (मोरङ), राजेन्द्र गौतम (संखुवासभा), लालबाबु पण्डित (मोरङ) ले पनि सचिव पदका लागि दाबी गरिरहेका छन् ।
त्यसैगरी वर्तमान पोलिटब्युरो सदस्य विशाल भट्टराई (खोटाङ) पनि सचिव पदको दाबीमा छन् ।
पदाधिकारीमा दाबी गरिरहेकामध्ये योगेश भट्टराई र विनोद ढकाल मात्रै ईश्वर पोखरेल समूहमा खुलेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाका अग्नि खरेल पनि पछिल्लो समयमा ओलीसँग रिसाएर टाढिएका कारण इतर समूहबाट पदाधिकारीमा उम्मेदवार बन्नसक्ने जनाइएको छ ।
उपाध्यक्ष पदमा दाबी गर्ने तयारी अघि बढाउँदै गरेका सुनसरीका भीम आचार्य भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार दायर गरेको मुद्दाका कारण एमालेको राजनीतिनै समाप्त हुनसक्ने मोडमा पुगेका छन् । उनीमाथि अख्तियारले पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै मुद्दा दर्ता गरेका कारण एमाले पदाधिकारी बन्ने यात्रामा ब्रेक लाग्ने निश्चित भएको हो ।
कोशी प्रदेशबाट विशेषगरी सचिव पदका लागि आकांक्षीको संख्या धेरै देखिएको छ । एमालेभित्र ११ औं महाधिवेशनको चुनावी माहौल बनेको खण्डमा नेताहरू समूहगत रुपमै प्रतिस्पर्धामा उत्रिने सम्भावना बलियो बनेको हो ।
अध्यक्ष पदमा केपी शर्मा ओली नै पुनः आकांक्षी बन्ने चौतर्फी चर्चा चलिरहँदा उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काउन्टर दिने तयारीमा छन् । यही समिकरण अनुसार नै एमालेभित्र नेतृत्व चयन हुने नेता कार्यकर्ताहरू बताउँछन् ।
कोशी प्रदेशबाट अहिले अध्यक्ष ओलीसहित उपाध्यक्षमा गुरु बराल र सचिवमा योगेश भट्टराई मात्रै पदाधिकारी तहका नेता छन् । जसमध्ये बराल मनोनित भएका हुन् । उनी पनि ११ औं महाधिवेशनबाट कम्तिमा सोही पदमा दोहोरिने दाउमा जुटेका छन् ।
पछिल्लो पटक पोलिटव्युरो सदस्य तिलकुमार मेन्याङ्बो (ताप्लेजुङ) र केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इञ्चार्ज जीवन घिमिरेले पनि निकट कार्यकर्ताहरूमार्फत आफूलाई सचिव पदको उम्मेदवारको रुपमा ‘ट्रायल’ गराइरहेका छन् ।
ईश्वर पोखरेल पक्षभन्दा ओली पक्षमा आकांक्षीहरूको लर्को देखिएका कारण यो समूहलाई आकांक्षी नेता व्यवस्थापनको चुनौति बढेको छ ।
अध्यक्ष ओलीले चितवनको सौराहामा सम्पन्न १० औं महाधिवेशनमाझैं लिष्ट पढ्ने सम्भावना रहेको भन्दै उक्त लिष्टभित्र पर्न उक्त समूहमा खुलेका अघिकांश नेताहरूलाई सकस परेको एमालेका कार्यकर्ताहरू बताउँछन् ।
एमालेले ११ औं महाधिवेशनलाई पार्टी कार्यकर्ताहरूबीचको बृहतको महाधिवेशनका रुपमा सम्पन्न गर्ने घोषणा गरेको छ । तर, ओली पक्षबाट भइरहेको यस्तो घोषणाले इतर पक्ष सशंकित बनेको छ ।
View : 258
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved