Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

पहिलो उपन्यास लिएर पाठकमाझ  सीमा आभाष

उद्‌घोष संवाददाता
४ असोज २०८२, शनिवार

विराटनगर । कविता लेखनमार्फत स्थापित साहित्यकार सीमा आभाष यसपटक पहिलो उपन्यासमार्फत पाठकमाझ प्रस्तुत भएकी छन् । उनको पहिलो उपन्यास ‘महायुग’ सार्वजनिक भएको छ। विराटनगर बसेर सिर्जनकर्ममा सक्रिय सीमा आभाषको यो चौथो पुस्तक हो ।

यसअघि साँझको संघारबाट कविता संग्रह, टापुका स्वरहरु कथासंग्रह र म स्त्री अर्थात आइमाई कविता संग्रह प्रकाशन गरेकी उनी यसपटक उपन्यासमार्फत पाठकमाझ पुगेकी हुन् । 

महायुग उपन्यास बुक हिलले प्रकाशन गरेको हो । महिलामा जे छ भनेर व्याख्या पुनः व्याख्या जसरी गरिएको छ, त्योभन्दा अलग खालको व्याख्या पुस्तकमा रहेको छ ।

महिलाहरु कोही मारिए, कोही आधा आयुमा मरे भने, त्यसरी मरेका स्त्रीहरुलाई शक्तिशाली मान्छे नै बनाएर अवतरित गरिएको यो कृतिमा स्त्रीको सीमातीत शारीरिक शक्ति र आत्मालाई चिनेपछि मात्र सारा मानव संसार र सृष्टि उज्यालो हुने सन्देश लिपिबद्ध छ ।

उपन्यासमा एक नारीको आत्मजागृतिको कथालाई एक पिँढीदेखि अर्को पिँढीसम्मका चार पुस्तामा चित्रण गरिएको छ ।

विगतका भूकम्प, भारतीय नाकाबन्दी र  कोरोनाकालमा नेपाली साहित्य क्षेत्रलाई चलायमान बनाउन आफूले खेलेको भूमिका स्मरण गर्दै देशको आजको विषम परिस्थितिमा पनि पुस्तक सार्वजनिक गरेको प्रेस विज्ञप्तिमार्फत बुकहिलले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एक जिम्मेवार प्रकाशन संस्था भएकाले अहिलेको जेन–जी पुस्ताले समेत नेपाली साहित्य पढून् भन्ने उद्देश्यले समेत यो उपन्यास सार्वजनिक गरिएको हो ।’ 

लेखक सीमा आभासले समाजले आफू अनुकूलको बन्धनभित्र स्त्रीलाई राख्ने गरेको तर स्त्रीभित्र जुन दबिएको स्त्री–शक्ति छ, त्यसलाई जागृत गराई बाँच्न चाहेको परिकल्पनामा उपन्यास लेखेको बताएकी छन् । 

‘स्त्रीको चेतना अनुरुप नै यस उपन्यासमा एक महायुगको निर्माण गरेकी छु’, उनले भनिन् । 

कथा र कवितामा कलम चलाइरहेकी विद्रोही चेतलाई आफ्नो लेखनमा मुखरित गर्ने सीमा आभासको यस उपन्यासमा युगीन नारी हुँकारलाई प्रस्तुत गरिएको छ । ३६० पृष्ठको पुस्तकको  मूल्य रु. ६९९/– रहेको छ ।

View : 1330

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved