प्रतिनिधिसभा निर्वाचन
सुनसरी । २०७९ को निर्वाचनको मत गणना चल्दाचल्दै लामो समय गणना रोकिदा त्यसले देशव्यापी चर्चा पाएको थियो । त्यसबेलाका सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीलाई जिताउन षड्यन्त्र गरिएको भन्दै मुख्य प्रतिष्पर्धी एमालेले ठूलो विषय बनाएपछि सुनसरी ४ मा मुलुकभरीको नजर परेको थियो ।
सुनसरी ४ मा यसपटक पनि धेरैको चासो उस्तै छ । यसअघिका कांग्रेस उम्मेदवार कार्की र एमालेका जगदिश कुसियतको यहाँ यसपटक पनि चुनावी ‘रिम्याच’ हुँदैछ । यद्यपि प्रतिष्पर्धामा उनीहरु दुई जना मात्रै भने छैनन् ।
प्रतिनिधिसभातर्फ यसपटक सुनसरी ४ मा कुल ३४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । तीमध्ये १६ जना विभिन्न राजनीतिक दलका आधिकारिक उम्मेदवार हुन् भने
१८ जना स्वतन्त्र रूपमा प्रतिस्पर्धामा छन् ।
दलतर्फ नेपाली कम्युनिष्ट पार्टीबाट महमद महफुज अन्सारी प्रतिस्पर्धामा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले दीपककुमार साहलाई अघि सारेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेमप्रसाद भट्टराई उम्मेदवार छन् । जनता समाजवादी पार्टी, नेपालबाट सबिता यादव चुनावी प्रतिस्पर्धामा उत्रिएकी छन् ।
जनमत पार्टीका कपलेश्वर यादव, नेपाल मजदुर किसान पार्टीकी चन्चला न्हिसुतू, मंगोल नेशनल अर्गनाइजेसनका मनकुमार राई पनि चुनावी मैदानमा छन् ।
त्यस्तै, नेपाल जनता पार्टीबाट रमेशकुमार साह, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) बाट सत्यनारायण लहुटिया, समावेशी समाजवादी पार्टी नेपालबाट एयुव अन्सारी उम्मेदवार बनेका छन् । यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मो. सदिक मियाँ, श्रम संस्कृति पार्टीका विष्णु राना तथा नेपाल कम्युनिस्ट पार्टी माओवादीका भेषराज बजगाईं पनि प्रतिस्पर्धामा छन् ।
राष्ट्र निर्माण दल नेपालबाट समिद खान र आम जनता पार्टीबाट तवरेज आलम अन्सारी उम्मेदवार छन् । यसबाहेक १८ जना स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन् ।
सुनसरी क्षेत्र नम्बर ४ विगतदेखि नै चर्चामा रहदै आएको निर्वाचन क्षेत्र हो । सुजाता कोइरालादेखि उपेन्द्र यादवसम्मले यहाँबाट चुनाव लडिसकेका छन् । यो क्षेत्रले प्रत्येक निर्वाचनमा राष्ट्रियस्तरमै ध्यान खिच्ने गरेको छ ।
यसपटक नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एमालेका जगदीशप्रसाद कुसियैत, नेकपाका महफुज अन्सारी र रास्वपाका दीपककुमार साहबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान यो क्षेत्रमा छ ।
यसअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले यहँ बलियो प्रभाव राख्दै आएको थियो । अघिल्लो निर्वाचनमा एमालेसंग गठबन्धन गरेको जसपा यसपटक एक्लै चुनावी मैदानमा छ । अन्य सबै दल पनि एकल रुपमै मैदानमा भिडिरहेका छन् ।
२०७४ र ०७९ मा दुई पटक लगातार विजयी भएका कांग्रेसका कार्की पनि यसपटक गठबन्धनबिनै प्रतिस्पर्धामा छन् ।
अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनमा हुँदा पनि झिनो मतान्तरले विजयी भएका कार्कीका लागि यसपटक एकल प्रतिस्पर्धा चुनौतीपूर्ण देखिएको छ ।
एमालेलाई पनि जसपा बिना चुनावी मैदान अपेक्षाकृत सजिलो छैन । एमाले उम्मेदवार कुसियैतलाई आफ्नै आधार मत सुरक्षित राख्नुपर्ने चुनौती छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिका कारण पनि उनी सहज अवस्थामा छैनन् । जेनजी आन्दोलनपछि रक्षात्मक अवस्थामा पुगेको एमालेलाई यो मुद्दा पनि चुनौती बनेको छ ।
कांग्रेसका कार्कीलाई आफ्नै मत जोगाउनु मुख्य चुनौती बनेको छ । उनले दुई कार्यकालमा गरेका कामको विवरण तयार पारेर कार्यकर्तामार्फत मतदातासम्म पुर्याइरहेका छन् । यद्यपि चुनाव आउँदा मात्रै क्षेत्र सम्झने भन्दै उनको आलोचना हुने गरेको छ ।
सुनसरी–४ मा कोशी गाउँपालिका, भोक्राहा गाउँपालिका, बराह नगरपालिकाको ६, ७, ८, ९, १० र ११, रामधुनी नगरपालिकाको वडा नम्बर ४, इनरुवा नगरपालिकाको ३, ४ र ८ तथा हरिनगर गाउँपालिकाको वडा नम्बर १, २ र ४, ५, ६ र ७ समेटिएका छन् ।
यस क्षेत्रमा १ लाख ११ हजार ४८१ मतदाता छन् । मुख्यतः कृषि, कोशी कटान र लालपुर्जासम्बन्धी समस्या यहाँका प्रमुख चुनावी मुद्दा हुन् ।
समयमा मलबीउ नपाउने समस्या र कोशी कटानका कारण विस्थापित भएका नागरिकका गुनासा उम्मेदवारहरूसामु दोहोरिंदै आएका छन् ।
२०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले ३० हजार ४८३ मत प्राप्त गरी विजयी भएका थिए । एमालेका जगदिशप्रसाद कुसियैतले ३० हजार ३७१ मत पाएका थिए । तेस्रो स्थानमा रहेका राप्रपाका विद्यानन्द यादवले ३ हजार २३२ मत प्राप्त गरेका थिए । कार्की २०७९ मा ११२ मतान्तरले विजयी भएका थिए ।
समानुपातिकतर्फ २०७९ मा नेपाली कांग्रेसले २८ हजार ८२ मत प्राप्त गरेको थियो भने एमालेले २० हजार ५७३ मत पाएको थियो ।
जनता समाजवादी पार्टी, नेपालले ६ हजार ५६५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ हजार ६१०, राष्ट्रिय स्वतन्त्र पार्टीले ५ हजार ६८, जनमत पार्टीले ३ हजार २१८, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ हजार ७८० र माओवादी केन्द्रले १ हजार ५३८ मत प्राप्त गरेका थिए ।
यसरी हेर्दा सुनसरी–४ मा दलगत प्रतिस्पर्धा, गठबन्धनको विघटन, मतदाता असन्तुष्टि र नयाँ विकल्पको खोजीले यसपटकको निर्वाचनलाई थप रोचक बनाएको छ ।
View : 185
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved