Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

पर्यटन प्रवर्द्धनका लागि साल्पा–सिलिचुङमा महोत्सव

गोकुल भुजेल
१३ मंसिर २०८०, बुधवार

भोजपुर,१२ मंसिर : भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभा जिल्लाको संगमस्थल साल्पासिलिछो गाउँपालिका–५ दोभानेमा रहेको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र साल्पापोखरी र सिलिचुङ डाँडाको प्रचारप्रसार तथा उक्त क्षेत्रमा आन्तरिक एंव बाह्य पर्यटक प्रवर्द्धनका लागि मेला, महोत्सव आयोजना गरिएको छ ।

समुद्री सतहदेखि ३ हजार ६ सय ७२ मिटर उचाइमा रहेको साल्पापोखरी र ४ हजार १ सय ५३ मिटरको उचाइमा रहेको सिलिचुङ डाँडा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रमा चर्चित भए पनि सो क्षेत्रमा पर्यटक आगमन थोरै भएकाले पर्यटक प्रवर्द्धनका लागि महोत्सव आयोजना भएको हो ।

हाल सो क्षेत्रको विकास, संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धन गर्दै आएको साल्पासिलिचुङ संरक्षण तथा पर्यटन प्रवर्द्धन विकास केन्द्रले बार्षिक रूपमा वैशाख, भदौ, कात्तिक र फागुनका पूर्णिमाका दिन विशेष मेला आयोजना गर्दै आएको केन्द्रका सदस्य वीरकुमार राईले बताए । सोही अन्तरगत मंसिर १० गते लागेको मेलामा विभिन्न खेलहरूसहित भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।

पहिलोपटक सगरमाथा चढ्न जाँदा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले प्रयोग गरेको हिलारी मार्ग र मुन्धुम पदमार्ग हुँदै यात्रा गर्ने उक्त क्षेत्रबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकनसहित धार्मिक आस्था बोकेर मानिसहरू उक्त क्षेत्रमा आउने गर्दछन् ।

साल्पा पोखरीमा पर्यटकहरू आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वासले पूजाआजा गर्नको लागि पुग्ने जनविश्वास छ । साथै यस क्षेत्रमा बोली नफुट्ने बालबालिकालाई बोली दिने, निसन्तानलाई सन्तान दिने, आफ्नो भाकल पूरा गर्न परेवा उडाउने र भगवानले मनकामना पूरा गरिदिने विश्वास छ । 

सिलिचुङ डाँडाबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण, मेरापिकलगायत हिमश्रृंखलासँगै १४ प्रकारका गुराँसको जंगल, मुन्धुम पदमार्ग, धार्मिक मठ, मन्दिर, ऐतिहासिक गुम्बा, चौरीखर्क, मनोरम डाँडाहरू, नदीनाला, वनजंगल, हाब्रे लगायतका जीवजन्तु, विभिन्न बहुमूल्य जडीबुटीलगायत विशेषताले भरीपूर्ण उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउन स्थानीयहरूले अर्धबार्षिक तथा बार्षिक रूपमा मेला लगाउँदै आएका छन् ।

यस क्षेत्रमा किराँतीको सृष्टिदेखि, सभ्यता, बसाइँसराई गर्दाका समस्या र जन्मदेखि मृत्युसम्मका संस्कार र परम्पराको वर्णन गरेको ङोपा मचिन्द्रबहादुर राई र दिलबहादुर राईले बताए । साल्पापोखरीलाई किराँत, हिन्दू, बौद्धमार्गीहरूले साझा तीर्थस्थलका रूपमा समेत मान्दै आएका छन् ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल साल्पा पोखरी र सिलिचोङडाँडामा पर्यटनको विकास गर्न अहिलेको आवश्यकता रहेको संघीय सांसद माया राईले बताइन् । उनले यस क्षेत्रको धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकार सयुंक्त रूपमा लागि पर्न आवश्यक रहेको समेत उल्लेख गरिन् ।

त्यस्तै भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले साल्पापोखरी र साल्पा सिलिचुङ डाँडा धार्मिक, सांस्कृतिक, पर्यावरणीय क्षेत्रको विकासका लागि यसअघि अन्तर पालिकास्तरीय बैठकले पारित गरेको २४ बुँदे योजना कार्यान्वयन गर्न सुझाउँदै मेयर आलेले भने, ‘यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि जिल्लास्थित सम्पूर्ण सरोकारवालाहरूले आ–आफनो तर्फबाट भूमिका निर्वाह गर्नुपर्छ ।

उक्त पर्यटकीय क्षेत्रको पूर्वाधार विकास तथा सडक, आवास, खाद्यान्नलगायत सेवा सुविधा विस्तार गर्न सके सो पालिकाको आन्तरिक आय वृद्धि भई आर्थिक विकासमा समेत टेवा पुग्छ ।’

यता, गाउँपालिकाका अध्यक्ष दौलत कुलुङले उक्त क्षेत्रको विकासका लागि आफूहरूले  गुरुयोजना निर्माण गरी लागी परेको बताए । साथै उनले स्थानीय सरकारले आवश्यक पूर्वाधार विकासका लागि प्रदेश र संघ सरकारसँग योजना माग गरेको समेत उल्लेख गरे । 

वडाध्यक्ष शिवकुमार राईले साल्पापोखरी र सिलिचुङ डाँडाको आधार शिविरमा पर्यटकहरूलाई सहज आवास, शौचालय, होटल तथा खानेपानीको व्यवस्था भएको बताए । उनले उक्त क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि वडाको तर्फबाट बार्षिक २० लाख भन्दा बढी खर्च गर्दै आएको समेत जानकारी दिए । 

त्यस्तै वडाध्यक्षहरू विक्रम बन, सञ्जय राई, विनोद राई र गणेश बुढाथोकीले साल्पा पोखरी र सिलिचुङ डाँडामा आन्तरिक एंव बाह्य पर्यटन प्रवर्द्धनमा आफूहरू निरन्तर लागि परेको बताउँदै आगामी दिनमा यस क्षेत्रका बारेमा आवश्यक पूर्वाधार विकाससँगै राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी पर्यटकीय हवको रूपमा विकास गर्ने योजना रहेको बताए । 

त्यस्तै साल्पा पुग्न धेरै लामो पदयात्रा गर्नुपर्ने भएकाले सहजरूपमा पुग्न आधार शिविरसम्म सडक पूर्वाधारको विकास, आवास, विद्युत, टेलिफोन सेवा विस्तारसँगै प्राकृतिक पर्यावरण संरक्षणमा सरोकारवालाहरूले जोड दिन आवश्यक रहेको आन्तरिक पर्यटक मनोज खनालले बताए ।

यस धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै मेला, महोत्सव एंव सबैलाई सहज गन्तव्यको रूपमा विकास गर्न सके थप आन्तरिक एंव बाह्य पर्यटकहरूको विकास हुने पर्यटक सुरेन्द्रदेव तामाङले बताए । 

साल्पा पोखरी तथा सिलिचुङ डाँडालाई नेपाल सरकारले निर्धारण गरेको घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्र राखेर पर्यटन प्रवर्द्धन गर्न पहल गरे तापनि अपेक्षित परिवर्तन भने भएको छैन । प्राकृतिक सौन्दर्यताले भरीपूर्ण यस क्षेत्रको संरक्षण, सम्वर्द्धनमा स्थानीय, प्रदेश र संघीय सरकारसँगै सरोकारवालाहरू तत क्षेत्रबाट लागी पर्न आवश्यक देखिन्छ ।

View : 383

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved