Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

सुख्खा लागेसँगै बढ्यो आगलागीका घटना

रौतामाई र केराबारीमा भएका आगलागीबाट लाखौंको क्षति

उद्घोष सम्वाददाता
३ चैत २०८०, शनिवार

विराटनगर । सुख्खा लागेसँगै वन डढेलो र आगलागीका घटना बढ्न थालेका छन् । उदयपुरको रौतामाई र मोरङको केराबारीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा लाखौंको क्षति भएको छ ।

उदयपुरको रौतामाई गाउँपालिका–३ भोर्लेनीमा नवउदय सामुदायिक वनमा फैलिएको डढेलो गाउँ पस्दा सोही ठाउँका तीनवटा घर जलेका छन् । 

स्थानीय गाउन राई, मन कुमारी राई, जगत राई, मदन राई, गोविन्द नेपाली र राम बहादुर राईको तीनवटा घर र ६ वटा गोठ पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

आगलागीबाट घरभित्र रहेका धनमाल समेत जल्दा करिव ४५ लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । उक्त बस्तीमा लागेको आगो प्रहरी र स्थानीय बासिन्दाहरूको सहयोगमा नियन्त्रण लिइएको र सामुदायिक वनमा लागेको डढेलोलाई पनि नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी मोरङको केराबारी गाउँपालिका–८ क्लब टोलमा शुक्रबार राती करिव ८ बजेतिर भएको आगलागीबाट स्थानीय मिलन कटवालको घर पूर्ण रुपमा जलेको छ । आगलागीबाट खसी समेत जलेर मरेको जनाइएको छ ।

घरभित्र रहेको ११ मुरी धान, तीन मन तोरी, मकै लगायत ५० हजार बराबरको अन्नपात जलेको हो । त्यस्तै सुनचाँदी लगायतका गरगहना सहित काठको दुई तले घर जलेको प्रहरीले जनाएको छ ।

घरमा मानिसहरू सुतिरहेको अवस्थामा घरको पछाडिबाट आगलागी भएको थियो । छिमेकीले खबर गरेपछि घरका मानिसहरूलाई बाहिर निकालिएको हो ।

पथरीशनिश्चरे, सुन्दरहरैंचा र बेलबारीबाट गएको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको जनाइएको छ ।

View : 99

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved