विराटनगर । पार्टीभित्र आफूलाई निरन्तर चुनौती दिइरहेका उपमहासचिव जनार्दन शर्मा प्रभाकरविरुद्ध सार्वजनिक रुपमै चेतावनी दिइरहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको बैठकमा भने नरम कुरा गरेका छन् ।
विराटनगरमा बिहीबार आयोजित पार्टीको प्रदेश सचिवालय बैठकमा प्रचण्डले अहिले पार्टीभित्र देखिएको समस्यालाई सामान्य रुपमा लिन कार्यकर्तालाई आग्रह गरेका छन् ।
उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र विधि, पद्धति र लोकतान्त्रिक प्रक्रियाको कुरा लगातार उठाइरहेका छन् । त्यसबाट दिक्क बनेका प्रचण्डले उनलाई पार्टी छाडेर जान, अनुशासनमा बस्न भन्दै आएका थिए ।
बिहीबार विराटनगर विमानस्थलमा पनि उनले ‘एक जना प्रभाकरले नपत्याउँदैमा पार्टी र आन्दोलन नरोकिने’ बताएर उनको असन्तोषले केही नहुने सन्देश दिएका थिए ।
बिहान विमानस्थलमा जनार्दनलाई यस्तो भनेका प्रचण्डले दिउँसो पार्टी बैठकमा भने ज्यादै नरम शैलीमा कुरा राखेका थिए । बरु उनले पार्टीभित्र अन्तरसंघर्ष चलिरहने भन्दै यो नभए अर्को अन्तरसंघर्ष आउने बताएका हुन् ।
‘बिहान विमानस्थलमा उपमहासचिवविरुद्ध कडा अभिव्यक्ति दिनुभएको अध्यक्षले बैठकमा भने ज्यादै सन्तुलित र संयम भएर बोल्नुभयो’ विराटनगरको बैठकमा सहभागी माओवादीका एक केन्द्रीय सदस्यले भने ‘सम्भवतः बैठकमा उठेका प्रश्न र उपस्थित कार्यकर्ताहरुको मनोभाव बुझेर पनि होला अध्यक्षले बैठकमा उपमहासचिवको नामसमेत लिनु भएन ।’
बैठकमा सहभागी प्रदेश सचिवालयका सदस्यहरुका धेरै प्रश्न अध्यक्ष र उपमहासचिवबीचको पछिल्लो वाकयुद्धमै बढी केन्द्रित थिए ।
केन्द्रमा चर्केको समस्याले तल्लो तहमा अन्योल छाएको, निराशा विस्तार भएको भन्दै कार्यकर्ताहरुले चिन्ता जाहेर गरेका थिए ।
प्रदेश नामकरणका बेला ‘कोशी’ का पक्षमा मतदान गरेको केही समयपछि गल्ती भएको भन्दै पुनः प्रदेश १ नै भन्न थालेको माओवादीको प्रदेश सचिवालय बैठकमा प्रचण्डले दुनियाँमा वर्ग रहुञ्जेल वर्ग संघर्ष चलेजस्तै पार्टी रहुञ्जेल अन्तरसघंर्ष चलिरहने जवाफ दिएका थिए ।
त्यतिमात्रै होइन सार्वजनिक मञ्चमा जनार्दनतिरै लक्ष्य गरेर ‘स्वार्थ समूहहरु पार्टीभित्र रहेको’ बताउँदै आएका उनले ‘पार्टीबाट दलालहरु लखेट्ने’ समेत भनिसकेका छन् ।
आफू कोही कसैमाथि कारबाहीको डन्डा चलाउने पक्षमा नरहेकोसमेत बताएर उनले प्रदेशका नेता–कार्यकर्तालाई आश्वस्त पार्न खोजेका छन् ।
माओवादीले ‘प्रदेश १’ भन्ने कोशीमा जनार्दन पक्ष बलियो रहेको मानिन्छ । प्रदेश अध्यक्ष हर्क नेम्वाङ, प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोदेखि केन्द्रीय नेताहरु सुदन किराँती, शिवकुमार मण्डल र मुख्य जनवर्गीय संगठनहरुमा पनि प्रदेशमा जनार्दन पक्षको नेतृत्व छ । विराटनगर महानगर कमिटीमा त चुनावबाट जनार्दन पक्षले ठूलो जीत हासिल गरेको थियो ।
‘उहाँले हाम्रो प्रदेशमा भएको उपनिर्वाचन, स्ववियु निर्वाचन, विभिन्न संघसंस्थाको निर्वाचनमा पार्टीले पाएको सफलता, जनपरिचालनमा देखिएको अवस्थाको प्रशंसा गर्नुभयो’ ती नेताले भने ‘यो सबै कुरालाई ध्यान दिएरै उहाँले अरु बेलाभन्दा संयमित शैलीमा आफ्ना भनाइ राख्नुभयो ।’
बैठकमा सहभागी नेताहरुका अनुसार अध्यक्ष प्रचण्डका सामुन्ने बोल्ने प्रदेशका नेताहरु धेरैले अहिले पार्टीमा देखिएको समस्या के हो, कहिले टुंगिन्छ भन्ने प्रश्नहरु गरेका थिए ।
ती नेताले प्रचण्डको भनाइ उधृत गर्दै भने ‘अहिलेको अन्तरसघंर्ष कहिले टुंगिन्छ भनेर धेरै कमरेडहरुले सोध्नुभएको छ । यो पार्टी रहुञ्जेल चल्छ । अहिलेको यो अन्तरसंघर्ष अन्त्य भए अर्को आइहाल्छ । विगतमा यो भन्दा भीषण अन्तरसंघर्षहरु पार गरेर आएका हौं ।’
पार्टी बैठकमा दिउँसो यति सन्तुलित भाषा प्रयोग गर्नुअघि बिहान भने उनले जनार्दनविरुद्ध तिखो टिप्पणी गरेका थिए ।
केही समययता उनीसँग वाकयुद्ध छेडिरहेका उपमहासचिव शर्मातिर लक्षित गर्दै पत्रकारहरुले सोधेका थिए ‘तपाईंलाई आफ्नै (पार्टीभित्रैका) ले पत्याउन सकेका छैनन् नि ?’ जवाफमा उनले भनेका थिए ‘एकजना प्रभाकरले नपत्याएर यो पार्र्टी आन्दोलन, यो इतिहास रोकिंदैन । यो कुरा हाम्रो स्थायी समितिको बैठकले प्रष्ट पारेको छ ।’
केही दिनअघि मात्रै प्रचण्डले आफूले खाँबो थामेजस्तो लाग्ने, आफूले छाडेका दिन गल्र्यामगुर्लुम ढल्छ जस्तो लाग्ने बताएका थिए । उनलाई जबाफ दिने क्रममा जनार्दनले पनि शेषनागले पृथ्वी थामेको भ्रम पालेजस्तो कसैले पनि महसुस गर्न नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
विराटनगर विमानस्थलमा स्वार्थ समूह कसलाई भनेको हो भन्ने प्रश्नमा प्रचण्डले ‘पार्टीको स्वार्थ, पार्टीको लाइन, पार्टीको विधि, पार्टीको पद्धति र लिडरसिपभन्दा बाहिर सार्वजनिक रुपमा वा आन्तरिक रुपमा पनि स्वार्थमा केन्द्रित भएर मिटिङहरु गर्नु पार्टीकाविरुद्ध गतिविधि गर्नेलाई भनिएको’ भन्ने जवाफ दिएका थिए ।
अध्यक्ष प्रचण्ड विराटनगर आएकै दिन जनार्दनले भने बुटवलबाट उनलाई जवाफ फर्काएका छन् । उनले पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापना गर्न नसक्दा अहिले समस्या देखा परेको बताएका थिए ।
‘जसले नेतृत्वको जयजयकार गर्छ उसैलाई अगाडि बढाउने गर्दा पार्टीहरूमा जनताका मुद्दाहरू बुझ्ने क्षमता हराउँदै गएको’ बताएका थिए ।
प्रचण्डतर्फ संकेत गर्दै उनले २०७९ सालको चुनावपछि सरकारको नेतृत्व गर्ने अवसर पाए पनि आफ्नै कारणले गठबन्धन फेरिएको बताए ।
‘आफ्नै ढंगले गठबन्धन फेर्ने अभियानमा लाग्दा आज जनताको एजेन्डाहरू सम्बोधन गर्न नसक्ने अवस्थामा पुगिएको छ ।’
View : 384
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved