Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

लेखा समितिमा उठ्यो उमागौरी सहकारीको विषय

उद्‌घोष सम्वाददाता
९ पुष २०८१, मङ्गलवार

विराटनगर । मोरङ धनपालथान–४ कर्सियामा रहेको उमागौरी कृषि सहकारी ठगी प्रकरणमा नाम जोडिएकी अञ्जला कोइरालाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार छिन् । 

मोरङ क्षेत्र नं २ का नेकपा एमालेका सांसदसमेत रहेका प्रतिनिधिसभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जलाको यो विषयले लेखा समितिमा पनि प्रवेश पाएको छ । 

सोमबार लामो समयपछि संघीय संसद्को लेखा समितिको बैठक काठमाडौंमा बस्यो । उक्त बैठकमा यो विषयलाई मुख्य विपक्षी माओवादीका मोरङकै सांसद अमनलाल मोदीदेखि एमालेकै सांसद योगेश भट्टराईसम्मले उठाए । 

एमाले सांसद भट्टराईले पोखरेलकी पत्नी अञ्जला अदालतमा उपस्थित हुनुपर्ने बताएका छन् । 

कोइरालासहित २५ जनाविरूद्ध गत पुस २ गते जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी  जारी भएको थियो । सोमबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै भट्टराईले भने ‘समितिका सभापतिको श्रीमती फरार रहेको कुरा आइरहेका छन् । अदालतमा उपस्थित हुन राम्रो हुन्छ । 

यो समिति सुशासन र चेक एण्ड ब्यालेन्सका लागि पनि बनेकोले आर्थिक रूपमा प्रष्ट हुनुपर्छ । यो स्पष्टीकरण दिने फोरम त होइन तर यसबारे प्रष्ट बनाइदिनुस् ।’ 

‘अरू चिच्याउँदै हिंडे भनेर हामीले त्यसो गर्ने होइन, न्यायिक निरूपण हुने निकायमा जानुपर्छ, उहाँ पक्कै अदालतमा उपस्थित हुनुहुन्छ’, भट्टराईले भने । 

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका  सांसद अमनलाल मोदीले भने सभापति पोखरेलको राजीनामा नै मागे । उनले भने ‘सभापतिले मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ । 

सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षीले पाउने अभ्यास पनि रहेको छ । मार्ग प्रशस्त गर्नु ठीक हुन्छ ।’ यसअघि गत पुस ४ गते माओवादी कोशी प्रदेश संसदीय दलले पनि  लेखा समिति सभापतिको राजीनामा माग गरेको थियो । सोमबारको बैठकमा कांग्रेसका सांसद राजेन्द्र केसीले भने श्रीमतीले अपराध गर्दा श्रीमानलाई जोड्न नहुने भन्दै पोखरेलको बचाउ गरेका थिए । 

‘अत्यन्तै ठूलो चिन्ता छ । श्रीमतीले गल्ती गर्दा भोलि श्रीमान फस्ने हुन् कि हैन, कानुनले के भन्छ ? मलाई चिन्ता छ’,  सांसद केसीले भने, ‘श्रीमतीले अपराध गर्दा श्रीमान  जोडिन्छ कि जोडिदैन ?’ सांसद केसीले बैठकमा थपे  ‘सभापतिको श्रीमतीको पक्राउ पुर्जी  जारी भएको हो, सभापतिलाई हैन होला । सभापतिलाई यसमा मुछ्नु राम्रो होइन ।’

सभापतिको भूमिका र लेखा समितिको नेतृत्वबारे माओवादी सांसद मोदीले प्रश्न उठाएपछि एमाले सांसद भट्टराईले जवाफ दिएका थिए । 

उनीहरु दुईबीच लामै सवालजवाफ चलेको बैठकमा सभापति पोखरेलले आफूबारे उठेका प्रश्नमा धेरै बोलेनन् । उनले भने, ‘विषय कानुनी प्रक्रियामा छ, सबै परीक्षामा सामेल हुन तयार छु । नेपालको संविधान, कानुनमा विश्वास राख्न चाहन्छु ।’

View : 118

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved