विराटनगर । लागूऔषध गाँजा बोकेर पक्राउ पर्नबाट भाग्ने क्रममा पोखरीमा हाम फालेका एक किशोरको शव तीन दिनपछि भेटिएको छ ।
विराटनगर महानगरपालिका–१८ भेडियारीमा १७ वर्षीय मञ्जितकुमार यादवको शव शुक्रबार बिहान स्थानीय पोखरीमा फेला परेको हो । शवलाई पोष्टमार्टमका लागि लैजाने क्रममा आक्रोसित भएका स्थानीयले शव खोजीमा संलग्न रहेका सुरक्षाकर्मीमाथि नै ढुंगामुडा गरेका छन् ।
प्रहरीमाथि ढुंगामुडा गरेको आरोपमा मृतकका आफन्त पर्ने एकजना युवक पक्राउ परेका छन् । प्रहरीले मृतक मञ्जितको शव पोष्टमार्टमका लागि कोशी अस्पताल पुर्याइएको छ । तर मृतकका आफन्त र स्थानीय बासिन्दाले शव उठाउन अवरोध गरेपछि केही समय अवस्था तनावपूर्ण बनेको हो ।
आन्दोलनमा उत्रिएका स्थानीयले किशोरलाई लखेट्ने प्रहरी टोलीमाथि कारबाही गर्न, घटनाको निष्पक्ष छानबिन गर्न तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै शव लैजान नदिने अडान लिएका थिए । उनीहरूले प्रहरीविरुद्ध नाराबाजी गर्दै सडक अवरुद्धसमेत गरेका थिए ।
भीडलाई हटाउन लाठीचार्ज गरेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठका अनुसार शुक्रबार बिहान करिब १०ः३० बजे पोखरीको बीच भागमा मञ्जितको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको थियो ।
बुधबार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा गाँजा बोकेर जाँदै गर्दा प्रहरीको चेकजाँचबाट बच्न उनी मोटरसाइकल छाडेर भागेका थिए । भाग्ने क्रममा उनी नजिकैको पोखरीमा हामफालेर बेपत्ता भएका थिए ।
उक्त घटनामा मोटरसाइकलको पछाडि सवार भारतका ४१ वर्षीय शिवधर यादवलाई प्रहरीले ६ किलो १३० ग्राम गाँजासहित पक्राउ गरेको थियो । बेपत्ता भएका मञ्जितको खोजीका लागि त्यसयता प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले संयुक्त रूपमा खोजी अभियान संचालन गरेका थिए ।
View : 46
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved