Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

राष्ट्रसेवक सहकारीको स्थापना दिवसमा १६ सम्मानित

उद्‌घोष संवाददाता
४ साउन २०८३, सोमवार

Advertisement

विराटनगर ।  विराटनगर–९ मा अवस्थित राष्ट्रसेवक सहकारी संस्था लिमिटेडले आफ्नो २९ औं स्थापना दिवस भव्य रूपमा मनाएको छ ।

उक्त अवसरमा आयोजित विशेष कार्यक्रमका बीच ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ बाट विराट साहित्य संगमलाई सम्मानित गरिएको छ ।

साहित्यको माध्यमबाट उपभोक्ता जागरणमा महत्वपूर्ण योगदान पुर्‍याएबापत संगमलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

 

सोमबार विराटनगरमा आयोजित कार्यक्रममा पुरस्कारका संस्थापक कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ ले विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेललाई १५ हजार नगद र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन् ।

 

स्थापना दिवसकै अवसरमा राष्ट्रसेवक सहकारी संस्थाका संस्थापकहरूका साथै संस्थामा अक्षयकोष स्थापना गर्न सहयोग गर्ने १५ जना दाताहरूलाई पनि सम्मान गरिएको छ ।


कार्यक्रममा संस्थाका अध्यक्ष जीवन काफ्ले, सचिव ओम सुवेदी, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, प्राज्ञ विवश पोखरेल, संस्थाका ज्येष्ठ सदस्य कृष्णकुमार अधिकारी लगायतले सहकारीको भूमिका र महत्त्वबारे आफ्नो धारणा राखेका थिए ।

सोही कार्यक्रमका बीच अक्षयकोषको संगालोका रूपमा तयार पारिएको ‘स्मृतियात्रा’ नामक पुस्तकको पनि विमोचन गरिएको छ ।

 

हाल राष्ट्रसेवक सहकारी संस्थामा ८५५ महिलासहित कुल १ हजार ९ सय २३ जना शेयर सदस्यहरू आबद्ध छन् । २९ वर्षदेखि निरन्तर सेवा प्रवाह गर्दै आएको यस संस्थाले आर्थिक कारोबारसँगै सामाजिक र साहित्यिक क्षेत्रमा समेत आफ्नो सक्रियता बढाउँदै लगेको छ।

View : 114

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved