Biratnagar, Morang, Nepal
१९ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
खेलकुद

बुढासुब्बा गोल्डकपमा साढे ६ लाख नाफा

उद्‌घोष सम्वाददाता
४ चैत २०८१, सोमवार

सुनसरी । २५ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजकलाई ६ लाख ६० हजार रुपैयाँ नाफा भएको छ । 

आयोजक धरान फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन गरी गोल्डकपको आम्दानी तथा खर्च बिवरण सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको आयव्यय अनुसार गोल्डकपलाई भुक्तानी हुन अझै १५ लाख रुपैयाँ बाँकी रहेकाले नाफा अझै बढ्ने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।

प्रतियोगितामा ६६ लाख ९९ हजार १ सय ५० रुपैयाँ आम्दानी भएको र ६० लाख ४० हजार १ सय रुपैयाँ खर्च भएको जनाइएको छ । 

धरान उपमहानगरपालिकाका सबै वडा कार्यालयहरुबाट ७ लाख, अखिल नेपाल फुटबल संघ एन्फाबाट ५ लाख र राष्ट्रिय खेलकुद परिषद्बाट ३ लाख गरी १५ लाख रुपैयाँ सहयोग रकम उठ्न बाँकी रहेकोले उक्त रकम उठेपछि २१ लख ६० हजार रुपैयाँ बचत हुने अध्यक्ष तामाङले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि सबैभन्दा बिदेशमा रहेका धरानेहरुका बिभिन्न  संघसंस्थाहरुबाट २० लाख रुपैयाँ सहयोग प्राप्त भएको क्लबले जनाएको छ । धरान उपमहानगरपालिकाको कार्यालयबाट ९ लाख र कोशी प्रदेश खेलकुद बिकास बोर्डबाट ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष तामाङले जानकारी दिए ।

क्लबले २५ औं बुढासुब्बा गोल्डकपको आयोजना गर्दैगर्दा १ करोड २ लाख २५ हजार अनुमानित आय हुने अपेक्षा गरेको थियो । व्ययतर्फ उसले ८० लाख १० हजार हुने अनुमान गरेको थियो । तर प्रदेश खेलकुद बिकास बोर्ड र राखेपले दिने भनिएको १० लाख रुपैयाँ कटौती गरेकाले नाफा घटेको क्लबले जनाएको छ ।

गत संस्करणमा क्लबलाई १७ लाख बढी नाफा भएको थियो । माघ २४ देखि २६ गतेसम्म भएको गोल्डकपको उपाधि न्युरोड टिम एनआरटीले जित्दै नगद १० लाख रुपैयाँ हात पार्दा उपविजेता चर्च ब्वाइज युनाइटेडले ५ लाख रुपैयाँ पाएको थियो ।

View : 94

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved