विराटनगर । सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगहरूमा जडित ‘बोयलर प्लान्ट’ का प्राविधिक कर्मचारीलाई त्यस्तो प्लान्टको सञ्चालन सम्बन्धि प्राविधिक क्षमता विकास र दक्षता बृद्धिको तालिम सुरु गरिएको छ ।
उद्योग संगठन मोरङको आयोजना, इन्स्योर परियोजनाको प्राविधिक सहयोग तथा बागमती आयल इण्डष्ट्रिजसँगको सहकार्यमा विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिकहरूलाई १५ दिने तालिम दिइएको हो ।
ब्वाइलर प्लान्ट त्यस्तो मेसिन औजारको संरचना हो, जहाँबाट उद्योगलाई आवश्यक उच्च चाप, बाफ र तातो पानी उत्पादन हुन्छ ।
त्यसको प्रयोग र संचालनमा खटिने प्राविधिक कर्मचारीहरूको क्षमता विकास गर्न आवश्यक माग आएका कारण तालिम संचालन गरिएको जनाइएको छ ।
औधोगिक क्षेत्रमा रहेका खाद्य तथा पेय पदार्थ, औषधि, कपडा उद्योग, कागज लगायतका अधिकांश उद्योगमा ब्वाइलर प्लान्ट अनिवार्य हुने गर्दछ ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उद्योग क्षेत्रको उत्पादनशीलता र सुरक्षा सुनिश्चित गर्न दक्ष प्राविधिक जनशक्ति अपरिहार्य रहेको जानकारी दिंदै त्यस्ता तालिमले उद्योगहरूको कार्यसम्पादनमा सुधार ल्याउने विश्वास व्यक्त गरे । उनले उद्योगहरूको आवश्यकताअनुसार सीपमूलक तालिमलाई निरन्तरता दिइने बताए ।
तालिममा ब्वाइलरको आधारभूत सिद्धान्त र कार्यप्रणाली, सुरक्षित सञ्चालन विधि तथा सुरक्षा मापदण्ड, इन्धन प्रयोग र ऊर्जा दक्षता सुधार गर्ने उपायहरू, नियमित मर्मतसम्भारको महत्व र प्रक्रिया, सम्भावित जोखिम तथा आपतकालीन अवस्थाको व्यवस्थापन र उपकरणहरूको सही प्रयोग तथा निगरानी गर्ने तरिकाबारे जानकारी गराइने जनाइएको छ ।
तालिममा विभिन्न उद्योग प्रतिष्ठानको ब्वाइलर प्लान्ट तथा सम्बन्धित प्राविधिक क्षेत्रमा कार्यरत २० जना प्राविधिकहरू सहभागी रहेको जनाइएको छ ।
View : 108
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved