बेलबारी । कोशी प्रदेश प्रहरी अस्पताललाई बेलबारीमै पुनर्स्थापनाको माग गर्दै मोरङका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् ।
गत फागुन १० गते मोरङको बेलबारीमा स्थापना भएको कोशी प्रदेश प्रहरी अस्पताल मंसिर २६ गते मध्यरातमा सुनसरीको इनरुवा सारिएपछि स्थानीय आन्दोलित बनेका छन् ।
रातारात इनरुवामा अस्पताल सारिएपछि प्रहरी अस्पताललाई पुन बेलबारीमा स्थापित गराउन माग गर्दै आइतबार मोरङका राजनीतिक दलका नेता र युवा तथा खेलकुदमन्त्री डीगबहादुर लिम्बूसहितको टोलीले प्रधानमन्त्री दाहाललाई भेटेको हो ।
प्रधानमन्त्रीलाई भेट्न बेलबारीका मेयर दिलप्रसाद राई, उपमेयर नितु थापा कोइराला, राष्ट्रियसभा सदस्य बिना पोखरेल, कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू, गीता तिम्सिना, नेपाली कांग्रेस बेलबारीका सभापति छत्र लिम्बू, नेकपा एमाले मोरङका सचिवालय सदस्य इरान राई, नेकपा माओवादी केन्द्रका नेता सावित्रीकुमार काफ्ले, तिलकप्रसाद राई, नेकपा माओवादी केन्द्र बेलबारीका अध्यक्ष परशुराम सुवेदी र नेपाली कांग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, कांग्रेस नेता डिल्लीराम गिरी लगायत काठमाडौं पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनीहरुले प्रदेश प्रहरी अस्पताललाई पुनः बेलबारीमै स्थापित गराउन माग गरेका छन् । भेटवार्ता सकारात्मक र उपलब्धिमूलक बनेको नेपाली कांग्रेस बेलबारीका सभापति छत्र लिम्बूले बताए ।
नगरबासीले खबरदारी गरेपछि स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सांसदहरू अस्पताल फिर्ता ल्याउने प्रयासमा छन् । यसअघि जनप्रतिनिधि तथा राजनीतिकदलहरुले मुख्यमन्त्री केदार कार्की, कांग्रेस नेता डा शेखर कोइराला लगायतलाई भेटेका थिए ।
View : 157
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved