विराटनगर । तीन जना बालबालिकाको ज्यान जाने गरी मोरङको बुढीगंगा गाउँपालिका–४ मा शुक्रवार भएको लरी दुर्घटनाका घाइतेलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटेर आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् ।
गम्भीर घाइते ५५ वर्षीय ज्योति अधिकारीको बुढीगंगा–२ स्थित विराट मेडिकल कलेजमा उपचार भइरहेको छ । गृहमन्त्री श्रेष्ठले मेडिकल कलेजमै पुगेर अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनले सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने आश्वासन समेत जनाएका छन् ।
दुर्घटना भएको लरीमा दुई सय टनसम्मका मार्बलका ब्लकहरु रहेका थिए । मार्बलको ब्लकले किचिएका अधिकारीलाई उक्त ब्लक हटाएर पाँच घण्टापछि मात्रै उद्धार भएको थियो ।
शुक्रवार अन्नपूर्ण मार्बल उद्योगका लागि भारतको राजस्थानबाट मार्बल बोकेर आएको आरजे २९ जीबी १५६१ नम्बरको लरी पल्टिँदा बुढीगंगा–४ प्रगति टोलका ५५ ज्योति अधिकारीका दुई जुम्ल्याहा सन्तानको सुतिरहेकै ठाउँ मृत्यु भएको थियो । त्यसैगरी छिमेककी एक बालिकाको समेत ज्यान गएको थियो ।
गम्भीर घाइते भएका अधिकारीका चार वर्षीया इसिता अधिकारी र निशान्त अधिकारी तथा अधिकारीको घरमा रहेको पसलमा सामान किन्न आएकी ७ वर्षीया रिया खवासको लरीबाट खसेको मार्बलले किचेर मृत्यु भएको छ ।
ठेकेदारले समयमा सडक निर्माण नगर्दा सडकको दुरवस्था भई लरी दुर्घटनामा परेको जनाइएको छ ।
सडक निर्माण गर्ने नाममा सडक भत्काउने र लामो समयसम्म त्यतिकै छाडिदिने प्रवृत्तिले बारम्बार दुर्घटना भइरहेका छन् । ठेकेदारले उक्त सडकमा एक वर्षदेखि मिक्स गिट्टी थुपारेर सडकमै छाडेको र सडकको दुरवस्थाका कारण लरी पल्टिएर दुर्घटना भएको जनाइएको छ ।
View : 363
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved