Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

उमागौरी सहकारी अनियमितता प्रकरण

२६ जनाविरुद्ध मुद्दा दायर, २२ करोड ४८ लाख बिगो दाबी

उद्‌घोष सम्वाददाता
१ पुष २०८१, सोमवार

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थामा करीव साढे २२ करोड बढीको अपचलन भएको भन्दै त्यसमा संलग्नताको आरोपमा २२ जनाविरुद्ध मुद्दा दायर भएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले उनीहरूविरुद्ध जिल्ला अदालत मोरङमा शुक्रबार मुद्दा दर्ता गरेको हो । दायर भएको आरोपपत्रअनुसार प्रतिवादीहरूले बचतकर्ताहरूले लिने गरेको ऋणमा हेरफेर गरी पूरा ऋण प्रवाह नगरेको उल्लेख छ । 

उमागौरी सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा प्रहरीले सोही सहकारीका वर्तमान सदस्य रोशन राजवंशीलाई पक्राउ गरिसकेको छ । प्रहरीले राजवंशीसहित मोरङको क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला, सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार समेत २६ जनाविरुद्ध जाहेरी तयार गरी सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सोही जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले अभियोग पत्र तयार गरेर मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको गरेको जनाइएको छ । 

आरोप पत्र अनुसार उनीहरूलाई बढीमा ८ वर्ष कैद सजाय र हिनामिना भएको बिगो रकम असुल गर्नुपर्ने माग गरिएको छ । मुद्दा दर्ता भएपछि वर्तमान सदस्य राजवंशीबाहेक २५ जना भने फरार भएका छन् । उनीहरूलाई प्रहरीले आइतबारसम्म पक्राउ गरेको छैन ।

अभियोग पत्र अनुसार उमागौरी कृषि सहकारीमा ८ हजार ८ सय ४२ जना शेयर सदस्य रहेको उल्लेख छ । शेयर वापत ३ करोड ८ लाख ९० हजार रहेको खुलाइएको छ । 

सहकारीमा ७०७ जना ऋणीहरूका नाममा २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ ऋण परिचालन भएको उल्लेख छ । सहकारीले प्रयोग गरेको सफ्टवेयरको अभिलेखअनुसार उक्त ऋणमध्ये हालसम्म ८ करोड १३ लाख ६४ हजार ७०१ रुपैयाँ ऋण असुल भएको र १६ करोड १६ लाख ५७ हजार ८३२ रुपैयाँ ऋण उठ्न बाँकी देखिएको आरोप पत्रमा उल्लेख गरिएको छ । 

‘उक्त ऋणहरूको सम्बन्धमा जाहेरी तथा निवेदन समेतको ब्यहोराबाट संस्थाका अध्यक्ष रहेका शम्भुप्रसाद रौनियारले उमागौरी कृषि सहकारी संस्थाबाट ऋण उपलब्ध बनाई तमसुक बनाएर धितोको लागि ऋणीहरूले घरजग्गा राखेकोमा सोही धितो राखिएको जग्गा नविल बैंक लिमिटेडमा धितो राखी कर्जा निकाली माग गरेको धितो रकम भन्दा आधा रकम मात्र सम्बन्धित ऋणीलाई उपलब्ध गराई आधा रकम आफैले खाई मासी हिनामिना गरेको कारण हाल सफ्टवेयरमा संस्थाले लगानी गरेको ऋण बढी देखिएको पाइन्छ’, आरोप पत्रमा भनिएको छ ।

यसैबीच पक्राउ परेका सहकारीका सदस्य राजवंशी भने पुर्पक्षका लागि जेल चलान भएका छन् । 

जिल्ला अदालत मोरङका न्यायाधीस अरुणकुमार झाको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । बाँकी २५ जना भने हाल फरार रहेको जनाइएको छ ।

View : 121

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved