नेपाल पत्रकार महासंघ मोरङका तत्कालिन अध्यक्ष बन्धु पोखरेल र तत्कालिन अजोड इन्स्योरेन्स कम्पनी विराटनगरका प्रमुख केदार खत्री बीमाको सम्झौता गर्दै । तस्वीर : उद्घोष
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ अन्तरगत कोरोना बीमा गरेका २९ जना पत्रकार र उनीहरूका परिवारका सदस्यले कोरोना बीमा बापतको भुक्तानी पाउने भएका छन् ।
युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले मंगलबार २९ जनाको जनही एक लाख रुपैयाँका दरले कोरोना बीमा बापतको २९ लाख रुपैयाँ नेपाल पत्रकार महासंघ मोरङ शाखालाई भुक्तानी पठाएको हो ।
बीमा कम्पनीको तर्फबाट महासंघले चेक हस्तान्तरण गरिएको नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले जानकारी दिए ।
महासंघका सदस्यहरूको कोरोना बीमाबापतको दाबी रकम भुक्तानीमा अटेर गरेपछि नेपाल पत्रकार महासंघ मोरङका तर्फबाट सचिव अधिकारीको नेतृत्वमा २०७८ भदौ २१ मा उच्च अदालत विराटनगरमा रिट दायर भएको थियो ।
कोरोना महामारीको पहिलो लहरमा पत्रकार महासंघ मोरङ र अजोड इन्स्योरेन्सबीच द्विपक्षीय सम्झौता भई दुई सयभन्दा बढी पत्रकार र उनीहरूका परिवारका सदस्यको कोरोना बीमा गरिएको थियो ।
बीमा अवधिसम्म सङ्क्रमित भएका मध्ये २० जनाले मात्र दाबी भुक्तानी पाएका थिए । बीमा अवधिसम्म सङ्क्रमित भएका र सम्पूर्ण कागजात पुगेपनि अन्य २९ जनाले भुक्तानी पाउन बाँकी रहेको थियो ।
२०७९ जेठ १६ गते उच्च अदालत विराटनगरका तत्कालीन कायम मुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश जगतनारायण प्रधानको संयुक्त इजलासले कोरोना बीमाको रकम भुक्तानी गर्न अजोड इन्स्योरेन्स कम्पनीका नाममा परामादेश दिएको थियो ।
उच्च अदालत विराटनगरले २०८१ वैशाख २५ मा बीमा दाबी भुक्तानीका लागि बीमा कम्पनीलाई पत्र पठाएको थियो । अदालतको परमादेशलाई कार्यन्वयन नगरी अटेर गरेपछि नेपाल पत्रकार महासंघ मोरङले फेरी अजोड इन्स्योरेन्स कम्पनीविरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै गत असार १० गते मुद्दा दर्ता गरेको थियो ।
उच्च अदालत विराटनगरले असार ११ गते अदालतको अवहेलना मुद्दामा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।
न्यायाधीश ममता खनाल र सुर्यनाथप्रसाद अधिकारीको संयुक्त इजलासले निवेदक नेपाल पत्रकार महासंघ मोरङको माग बमोजिम अदालतको अवहेलनामा कारवाही गर्नु नपर्ने आधार र कारण भए प्रमाणसहित ७ दिनभित्र जवाफ माग गरेको थियो ।
उच्चको आदेश बमोजिम बीमा कम्पनी र नेपाल बीमा प्राधिकरणले समेत लिखित जवाफ पेश गरिसकेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ५ अर्थ मन्त्रालयले जवाफ पेश गर्न बाँकी रहेको अवस्थामा कम्पनीले बीमाको दाबी भुक्तानी गरेको हो ।
अदालतको अवहेलनामा कारवाही मुद्दाको फैसला आउनुअघि नै बीमा कम्पनीले भुक्तानी हुन बाँकी २९ जनाको भुक्तानी गरेको जनाइएको छ ।
गत साउन २२ गते नेपाल पत्रकार महासंघ मोरङको समन्वयमा नेपाल बीमा प्राधिकरणसँग महासंघ कार्यालयमा गरिएको अन्तरक्रियामा समेत प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले कोरोना बीमाको रकम भुक्तानी गराउने प्रतिबद्धता जनाएका थिए ।
उनले काठमाडौँ पुग्ने बितिक्कै बीमा कम्पनीसँग छलफल गरेर दाबी भुक्तानी पाउन बाँकी पत्रकारहरूको कोरोना बीमा वापतको रकम भुक्तानी भएको जनाइएको छ ।
View : 144
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved