विराटनगर । उच्च अदालत विराटनगरले पुरानै उम्मेदवारी कायम राखेर तीन महिनाभित्र पुनः मतदान गर्न अन्तिम आदेश दिएपछि विराटनगर–३ स्थित मानगढ खानेपानी आयोजनाको समितिका आकांक्षी उम्मेदवारहरूले उपभोक्ता माझ भोट माग्न थालेका छन् ।
वार्षिक ६ अर्ब बढीको आर्थिक कारोबार गर्ने विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था अन्तरगतको मानगढ खानेपानी आयोजनाको निर्वाचनमा तीनवटा प्यानल चुनावी मैदानमा रहेको बेला निर्वाचन प्रक्रिया विथोलिएर विवादित बनेको थियो । तत्कालीन अध्यक्ष रामबहादुर घिमिरे नेतृत्वको कार्यसमितिले खानेपानीको चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने जिम्मेवारी पूरा गर्न नसक्दा सबै उपभोक्ताहरू मतदान गर्नबाट वञ्चित भएका थिए ।
२०८१ जेठ १९ गते भएको मतदानको प्रक्रिया विवादित बनेपछि निर्वाचन समितिमाथि नै हातपात भएको थियो । सोही कारण भोलिपल्ट अर्थात जेठ २० गते तोकिएको बा“की मतदानको कार्य अघि बढ्नुअघि नै निर्वाचन समिति सबै पदाधिकारीले राजीनामा दिएका थिए ।
खानेपानीको नयाँ नेतृत्व चयनका लागि तत्कालीन अध्यक्ष रामबहादुर घिमिरेसहित लालमणि भट्टराई र दुर्गा चापागाई प्यानलै चुनावी मैदान उत्रिएका थिए । रोकिएको मतदानसम्बन्धी विवादलाई उच्च अदालत विराटनगरले पुरानै उम्मेदवार यथावत् राखेर पुनः मतदानको आदेश दिएपछि अहिले उम्मेदवारहरू व्यक्तिगत रुपमा घरदैलोमा केन्द्रीत भएका छन् ।
अध्यक्षका उम्मेदवार लालमणि भट्टराईले आफूले घरदैलोमा जुटिसकेको जानकारी दिए । नेकपा एमाले विराटनगर महानगर वडा नम्बर ३ को वडा कमिटी अध्यक्षसमेत रहेका भट्टराई र अर्का उम्मेदवार घिमिरेबीच आधिकारिक उम्मेदवारको विवाद हुँदा एमालेले भट्टराईलाई कारवाही समेत गरेको थियो । तर अहिले नवनिर्वाचित एमाले जिल्ला कमिटीको पहिलो बैठकले भट्टराईमाथि अघिल्लो कमिटीले गरेको सवै कारवाही फिर्ता गरिसकेको जनाइएको छ ।
‘अदालतले पनि आदेश दिइसकेको छ, हामी नै उम्मेदवार भएकोले चुनावी अभियानमा जुटिसकेका छौं, मैले भोट माग्न थालिसकेको छु’ भट्टराईले भने, ‘अव शान्तिपूर्ण र व्यवस्थित निर्वाचन सम्पन्न गर्न पनि हामीले भूमिका निर्वाह गर्छौं ।’
अध्यक्षकी उम्मेदवार दुर्गा चापागाईँले मतदानको मिति नतोकिएपछि आफू नजिकका व्यक्तिसँग बसेर छलफल गरिरहेको बताइन् । उनले पुनः मतदान हुने भएपछि खानेपानीको वर्तमान समितिले बोलाएर छलफल गर्नुपर्नेमा अहिलेसम्म त्यसबारे जानकारी नपाएको बताइन् ।
‘चुनाव हुने निश्चित छ, तर डेट तोकेको छैन, हामीलाई छलफलमा बोलाउनुपर्ने हो, सोधिखोजी भएको छैन’ उनले भनिन्, ‘अध्यक्षका उम्मेदवारहरू समन्वय गर्नुपर्ने हो तर गरेको छैन, समितिले नबोलाएपनि मैले आफ्ना साथीभाइसँग छलफल गरिरहेको छु ।’
चापागाईं प्यानलका सचिवका उम्मेदवार पवनकुमार भट्टराईले पनि आफू उपभोक्तामाझ मत माग्न पुगिरहेको बताए । उनले पुनः मतदान हुने भएकोले समय मिलाएर उपभोक्ताको घरघरमा पुग्न थालेको जानकारी दिए ।
उच्च अदालतको फैसलाअनुसार आगामी जेठ २७ गतेभित्र खानेपानीको निर्वाचन हुनुपर्ने वर्तमान अध्यक्ष रामबहादुर घिमिरेले बताए । समय पर्याप्त बाँकी भएको र जिल्ला प्रशासनसहितका अन्य पक्षहरूलाई अदालतको आदेश भएकोले छलफल गरेर मात्रै निर्वाचनको मिति तोकिने जानकारी दिए ।
‘अदालतको जानकारी प्राप्त भएर हामीले बुझेको मितिअनुसार खानेपानीको निर्वाचन जेठ २७ भित्र गर्नुपर्ने हुन्छ, तीनवटा पक्षलाई अदालतले आदेश दिएकोले सबैबीच बसेर टुंग्याउनुपर्नेछ’ अध्यक्ष घिमिरेले भने, ‘निर्वाचनका लागि व्यवस्थित तयारी गर्नुपर्ने भएकोले अहिले नै भोट माग्दै हिंडेको छैन, तीन महिना अघि नै कुदेर के गर्नु ?’
उच्च अदालत विराटनगरका न्यायधीसद्वय ध्रुवराज नन्द र विष्णुप्रसाद अर्यालको संयुक्त इजलासले मानगढ खानेपानीको ‘तदर्थ समितिले असल नियतबाट नयाँ निर्वाचन समिति गठन गरी मिति २०८१÷२÷१९ गते विहान ९ बजे अगाडिको स्थितिमा जे जुन मतदाता र पदका उम्मेदवारहरूको दरखास्त परी कायम रहेका हुन् तिनै उम्मेदवारहरूको हकमा सोही अवधिमा कायम रहेका मतदाताहरूबाट आदेशको जानकारी पाएको मितिले ३ महिनाभित्र मतदान गरी निर्वाचन सम्पन्न गर्ने’ आदेश दिएको थियो ।
मानगढ खानेपानी आयोजनाबाट वितरित खानेपानी हाल करिव ६ हजार घरधुरीले उपभोग गर्दै आएका छन् । तिनै उपभोक्ता मतदाता हुन् ।
View : 132
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved