विराटनगर । काठमाडौंमा सम्पन्न १६ औं राष्ट्रपति रनिङ शिल्डमा चार स्वर्णसहित २८ वटा पदक जित्न सफल कोशी प्रदेशका २७ जना खेलाडीहरू सम्मानित भएका छन् ।
जेठ २० देखि २२ गते सम्म काठमाडौंमा सम्पन्न भएको प्रतियोगितामा कोशी प्रदेशबाट सहभागी खेलाडीहरूमध्ये ४ स्वर्ण, ७ रजत र १७ कास्य पदक जित्न सफल भएका खेलाडीलाई नगदसहित आइतबार सम्मान गरिएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष एवं सामाजिक विकास मन्त्री रामप्रसाद मेहता लगायतले स्वर्ण पदक प्राप्त खेलाडीहरूलाई जनही १ लाख नगद, रजत पदक प्राप्त खेलाडीलाई जनही ७५ हजार नगद र कास्य पदक प्राप्त खेलाडीहरूलाई जनही ५० हजार नगदसहित सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।
प्रतियोगितामा पदक जित्न सफल एथलेटिक्स, कराते, उसु र तेक्वान्दो खेलका प्रशिक्षक र व्यवस्थापकलाई समेत क्रमशः १५ हजार र १० हजार नगदसहित सम्मान गरिएको थियो ।
प्रतियोगितामा कोशी प्रदेशको नेतृत्व गरेर गएका टोली नेता र उपनेतालाई पनि १० हजार नगदसहित सम्मान गरिएको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले खेलाडीहरूलाई प्रतिबद्धता बमोजिम प्रतियोगिता सम्पन्न भएको एक हप्ताभित्र सम्मान गर्न सफल भएको बताए ।
उनले खेल क्षेत्रमा सीमित स्रोत र सुविधाको उपयोग गर्दै खेलाडीहरूले सफलता हासिल गरेकोले प्रदेश सरकारले पनि खेलाडीहरूलाई सदैव प्रोत्साहन गर्ने बताए ।
उनले १७ औं राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेशमा हुने भएकोले उक्त प्रतियोगिताका लागि आवश्यक रकम प्रदेश सरकारले आगामी बजेटमा विनियोजन गर्ने तयारी गरेको जानकारी दिए ।
View : 40
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved