Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

दुहबीमा आगलागी हुँदा ४ घर जले, आगो निभाउने क्रममा एक दर्जन घाइते (फोटोसहित)

दमकल ढिलो पुगेको भन्दै स्थानीय आक्रोशित
उद्घोष सम्वाददाता
६ चैत २०८०, मङ्गलवार

दुहबी । सुनसरीको दुहबी नगरपालिका–२ तुताहास्थित मुस्लिम टोलमा मंगलबार दिउँसो भएको आगलागीमा चारवटा घर जलेका छन् । आगो निभाउने क्रममा एक दर्जन दर्जन बढी स्थानीय घाइते भएका छन् । 

बिजुलीको पोलमा तार सर्ट भएर निस्केको आगो झिल्को स्थानीय इब्राहिम मियाँको घरमा सल्किएको थियो । आगो फैलिएर मुस्लिम टोलका चारवटा घर जलेका छन् । 

विपन्न परिवारका उनीहरूको टिनको घर तथा टहरा लगायत त्यहाँभित्रको धनमाल, खाद्यान्न समेत जलेर नष्ट भएको जनाइएको छ । आगलागीबाट करिव १५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दुहबीले अनुमान गरेको छ ।

घरमा आगलागी भइरहेको अवस्थामा स्थानीय बसिर मियाँले भएपछि ६ वर्षको बच्चालाई घरभित्रै पसेर बाहिर निकाल्न सफल भएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।

आगो निभाउन प्रयास गर्दा इब्राहिम मियाँ, जाहिर मियाँ, अमाल मियाँ, बसिर मियाँ, नाजो खातुन, सहारुन खातुन, मफिना खातुन, नवेसा खातुन लगायत घाइते भएका छन् । घाइतेहरूको दुहबीस्थित सुनसरी सामुदायिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

आगलागी भएको बस्तीबाट दुई किलोमिटर छेउमा रहेको दुहबी नगरपालिकाको दमकल समयमा नपुगेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । दमकल आधा घण्टा पछि पुगेका कारण विपन्न परिवारका मानिसहरूको घर जलेर नष्ट भएको उनीहरूले आरोप लगाएका छन् । 

दमकल ढिला पुगेका कारण क्षति भएको दाबी गर्दै आगलागीको क्षतिपुर्ति नगरपालिकाले दिनुपर्ने माग गरेका छन् । 

स्थानीय खुसरुदिन मियाँले नगरपालिकाको दमकल इन्चार्ज प्रताप राजवंशीले मादक पदार्थ सेवन गरेको दाबी गरिन् । दमकलको ढिलासुस्तीले घरहरू जलेर नष्ट भएको आरोप लगाइन् ।

विराटनगर सहित इटहरी, इनरुवा र दुहबी चारवटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।

 

View : 852

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved