Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगर महानगरको बजेटमा २० प्रतिशत कटौती

चालु आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख आय अनुमान गरिएकोमा साउनदेखि पुस १५ गतेसम्म १ अर्ब १५ करोड ८४ लाख ४८ हजार ३ सय ३५ रुपैयाँ अर्थात २८.९३ प्रतिशत मात्र यथार्थ आय हुन सकेको जनाइएको छ ।
उद्‌घोष संवाददाता
२५ पुष २०८२, शुक्रवार

विराटनगर । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देखाउँदै विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । 

बिहीबार भएको नगरसभाको १७ औं अधिवेशनले आर्थिक वर्ष २०८२-८३ का लागि विनियोजित बजेटको २० प्रतिशत रकम कटौती गर्ने निर्णय गरेको हो । 

जेनजी आन्दोलनबाट उत्पन्न परिस्थिति, घरजग्गा कारोबारमा आएको मन्दी, संस्थागत बहाल कर लक्ष्यअनुरुप असुल हुन नसक्नु लगायतका कारण प्रक्षेपण गरिएको भन्दा महानगरको आय न्यून हुने देखिएको हुँदा चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय गरिएको उपमेयर शिल्पा निराला कार्कीले जानकारी  दिइन् । 

चालु आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख आय अनुमान गरिएकोमा साउनदेखि पुस १५ गतेसम्म १ अर्ब १५ करोड ८४ लाख ४८ हजार ३ सय ३५ रुपैयाँ अर्थात २८.९३ प्रतिशत मात्र यथार्थ आय हुन सकेको जनाइएको छ । 

त्यसैगरी कूल अनुमानित व्यय ४ अर्ब ४० लाख अनुमान गरिएकोमा पुस १५ गतेसम्म ७१ करोड ७० लाख ७५ हजार २ सय ८४ रुपैयाँ अर्थात १७ दशमलव ९० प्रतिशत मात्र व्यय भएको उपमेयर कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

खर्चमध्ये पुँजीगततर्फ १४ करोड ४४ लाख ९२ हजार ८६ रुपैयाँ खर्च भएको छ । प्रशासनिक एवं चालु खर्चतर्फ ५४ करोड ८० लाख ८१ हजार ५ सय १५ रुपैयाँ खर्च भएको छ भने वित्तीयतर्फ २ करोड ४५ लाख १ हजार ६ सय ८३ रुपैयाँ खर्च भएको छ । 

त्यसैगरी कूल अनुमानित आयमा आन्तरिक राजस्वतर्फ १ अर्ब ४० करोड अनुमान गरिएकोमा पुस १५ गतेसम्म १९ करोड ८५ लाख ८० हजार २ सय ६४ रुपैयाँ मात्र आय संकलन भएको उपमेयर कार्कीले बताइन् । 

नगरसभाको १७औं अधिवेशनलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले कार्यकालको करिब चार वर्ष अनेकौं संकट र कठिनाइका बीच बितेपनि जनअपेक्षाप्रतिको उत्तरदायित्वबाट आफूहरू विचलित नभएको बताए । 

उनले जनप्रतिनिधि र कर्मचारीबीचको सौहार्दपूर्ण सम्बन्धले संस्थागत सफलताको आधार तयार गरेको उल्लेख गरे ।

उनले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाबाट महानगरको प्रशासनिक भवनसहित १३ वटा वडा कार्यालयमा आगजनी भई झण्डै १ अर्ब रुपैयाँ बराबरको क्षति भएको स्मरण गराए ।

आन्दोलनका क्रममा आफ्नै निजी निवास र वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेतको घरमा समेत आगजनी भएको उल्लेख गर्दै उनले जनसेवामा निरन्तर खटिंदा आफ्नै कार्यालय र घर जलाइँदा पीडा महसुस भएको बताए ।

View : 145

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved