सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा–१२ स्थित शुक्रबारे खेल मैदानमा “चौथो सुन्दरहरैंचा मेयर गोल्डकप २०८२” आयोजना हुने भएको छ ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नारासहित सञ्चालन हुन लागेको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न पालिकाका टोलीहरूको सहभागिता रहने आयोजक सुन्दरहरैंचा नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
नगर खेलकुद विकास समितिका सदस्य सचिव खडग श्रेष्ठका अनुसार प्रतियोगिताको उद्घाटन खेल जेठ १६ गते दिउँसो ३ बजे बेलबारी नगरपालिका र पथरीशनिश्चरे नगरपालिकाबीच हुनेछ ।
त्यसैगरी जेठ १७ गते सुन्दरहरैंचा नगरपालिका र बेलका नगरपालिका आमनेसामने हुनेछन् भने जेठ १८ गते केराबारी गाउँपालिका र शिवसताक्षी नगरपालिकाबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।
जेठ १९ गते लेटाङ नगरपालिका र इटहरी उपमहानगरपालिकाबीच खेल सञ्चालन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सेमिफाइनल खेलहरू जेठ २० र २१ गते दिउँसो ३ बजे हुनेछन् भने फाइनल खेल जेठ २३ गते शनिबार आयोजना गरिनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने उल्लेख गरिएको छ ।
प्रतियोगितामा सहभागी टोलीहरू बेलबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, केराबारी गाउँपालिका, शिवसताक्षी नगरपालिका, सुन्दरहरैंचा नगरपालिका, बेलका नगरपालिका, लेटाङ नगरपालिका, इटहरी उपमहानगरपालिका रहेका छन् ।
स्थानीय तहका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहने प्रतियोगितामा खेलप्रेमी दर्शकको उल्लेख्य उपस्थितिको अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको कुल लागत करीव १७ लाख रुपैयाँ रहने तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने जनाइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै सुन्दरहरैंचा नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. १२ का अध्यक्ष रोशनप्रसाद ढकालले सुन्दरहरैंचालाई खेलकुद हबका रूपमा विकास गर्न सकिने बताए ।
उनले नगरले यसअघि नै थुप्रै राष्ट्रिय तथा व्यावसायिक खेलाडी उत्पादन गरिसकेको उल्लेख गर्दै नगरभित्र निरन्तर खेलकुद गतिविधि सञ्चालन हुँदै आएको बताए ।
View : 82
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved