विराटनगर । नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको मागसहित सुरु भएको हस्ताक्षर अभियानलाई कोशी प्रदेशका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले बलियो साथ दिएका छन् । कोशी प्रदेश कांग्रेसका हेभिवेट नेताहरूको गृह प्रदेश पनि हो ।
महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू शेखर कोइराला, कृष्णप्रसाद सिटौला, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, डा मीनेन्द्र रिजाल, विजयकुमार गच्छदार लगायत केन्द्रीय नेतृत्वका प्रभावशाली नेताहरूको गृह प्रदेश कोशीमा दुई तिहाइभन्दा बढी महाधिवेशन प्रतिनिधिले मंसिरभित्रै नियमित महाधिवेशन गर्न माग गर्दै हस्ताक्षर गरेका छन् ।
कोशीबाट केन्द्रीय नेतृत्वमा प्रभाव राख्ने नेताहरू महामन्त्री शर्मा, शेखर कोइराला, बलबहादुर केसी लगायतका नेताहरू नेतृत्व परिवर्तनको पक्षमा उभिदा सिटौला, ज्ञानेन्द्र कार्कीलगायतका नेताहरू देउवाकै निरन्तरताको पक्षमा छन् । तर, परिवर्तनका पक्षधरहरूको पक्षमा बहुसंख्यक महाधिवेशन प्रतिनिधिले आफूलाई उभ्याएका छन् ।
अहिले पनि हस्ताक्षर अभियान जारी रहेको नेताहरूको भनाइ छ ।
भदौ २३ र २४ को जेनजी विद्रोहपछि सभापति शेरबहादुर देउवासहित सबै दलका शीर्ष नेताहरूको औचित्य समाप्त भइसकेको भन्दै उनीहरूको बहिर्गमनको माग भइरहेको छ । कोशी प्रदेशका तराईका चार जिल्ला झापा, मोरङ, सुनसरी र उदयपुरमा सबैभन्दा धेरै महाधिवेशन प्रतिनिधि छन् ।
पहाडी जिल्लाहरूसहित कोशीबाट मात्रै दुई तिहाइभन्दा बढी महाधिवेशन प्रतिनिधिले आफूलाई परिवर्तनको पक्षमा उभ्याएको कांग्रेस नेता गुरुराज घिमिरेले जानकारी दिए ।
कोशी प्रदेशका महामन्त्री उमेश थापाले पनि प्रदेशभरीबाट हस्ताक्षरकर्ताहरूको संख्या दुई तिहाइ नाघेको जानकारी दिए ।
पटकपटक पार्टी र मुलुकको नेतृत्व गरिसकेका तर जनस्तरमा अलोकप्रिय रहेका शीर्ष नेताहरूले तत्काल बाटो खुला गर्नुपर्ने माग उठेका बेला कांग्रेसमा दुई जना महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा नेतृत्व परिवर्तनको मुद्दा केन्द्रीय पदाधिकारी बैठकमा राखिसकेका छन् ।
उनीहरूले मंसिर अन्तिमसम्म नियमित महाधिवेशन गर्नुपर्ने, त्यसका लागि तयार नभए विशेष महाधिवेशन गर्नुपर्ने माग अघि सारेका छन् ।
उनीहरूको यो मागमा मुलुकभरीका ५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले समर्थन जनाउँदै हस्ताक्षर गरिसकेका छन् ।
यस पटकको हस्ताक्षर अभियानले आफ्नै गृहजिल्ला झापाको पार्टी पंक्तिभित्र नेता कृष्णप्रसाद सिटौला कमजोर बनेको देखिएको छ ।
कुनै बेला झापा कांग्रेसमा एकछत्र प्रभाव कायम गरेका सिटौला सभापति देउवाको विकल्प खोज्न नहुने पक्षमा उभिएका छन् । तर, उनकै पक्षमा लामो समयदेखि उभिएका नेताहरू भने झापामा नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन् ।
कांग्रेस झापाका पूर्वसभापतिसमेत रहेका सुधीर शिवाकोटी नेता सिटौला समूहका मुख्य खम्बा मध्येका हुन् ।
उनी आफै पनि देउवाको नेतृत्वमा अघि बढ्न नसकिने भन्दै नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन् ।
‘अब शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस अघि बढ्न सक्दैन, यो असम्भव छ’, शिवाकोटीले भने ‘आइतबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकबाट उहाँलाई ‘ग्रेसफुल एक्जिट’ गराउनुपर्छ । त्यसपछि पार्टी एकढिक्का भएर अघि बढ्नेछ । अन्यथा पार्टी धराशायी हुने निश्चित छ ।’
त्यसो त झापा महामन्त्री विश्वप्रकाश शर्माको गृह जिल्ला पनि हो । झापामा शनिबार साँझसम्ममा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले परिवर्तनका पक्षमा हस्ताक्षर गरिसकेको नेताहरूले दाबी गरेका छन् ।
‘शनिबार साँझसम्ममा झापाका ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले परिवर्तनका पक्षमा हस्ताक्षर गरिसकेका छन्’, झापा १ का क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले भने ‘अभियान अझै जारी रहेको छ । यो संख्या अझै बढ्नेछ ।’
कांग्रेस कोशी प्रदेशका प्रवक्ता यदु विष्टका अनुसार मोरङमा ७० प्रतिशत हाराहारी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । सुनसरीमा पनि ७० प्रतिशतले र उदयपुरमा ८० प्रतिशत हाराहारीले हस्ताक्षर गरेको महामन्त्री उमेश थापाले जानकारी दिए ।
जिल्ला सभापति हिमाल कार्की नेतृत्वको जिल्ला कार्यसमितिले त बैठकबाटै निर्णय गरेर नेतृत्व परिवर्तनसहित पार्टी रुपान्तरण हुनुपर्ने निर्णय नै गरिसकेको छ ।
हस्ताक्षर अभियानका एक जना अगुवाइकर्ता गुरुराज घिमिरेले दिएको जानकारीअनुसार कोशी प्रदेशमा झन्डै दुई तिहाइ महाधिवेशन प्रतिनिधिले वर्तमान नेतृत्वलाई स–सम्मान बिदाइ गरी विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् ।
घिमिरे कांग्रेस नेता शेखर कोइराला निकट मानिन्छन् । यो अभियानको अगुवाई पनि गरिरहेका छन् ।
यद्यपि झापा र मोरङमा भने शेखर कोइराला टिम यो सन्दर्भमा विभाजित देखिएको छ । कोइराला आफै पनि नेतृत्व परिवर्तनको पक्षमा उभिएका नेता हुन् ।
पछिल्लो महाधिवेशनमा देउवासँग सभापतिमा पराजित बनेका उनले आफ्नै प्रदेशमा टिमलाई एकढिक्का राख्न नसकेको देखिएको छ । उनी पक्षका धेरैले हस्ताक्षर गरेका छन् । तर, सबैले गर्न मानेका छैनन् ।
झापामा कोइराला टिमकी सरिता प्रसाईसहितका नेताहरूले अहिलेसम्म हस्ताक्षर गरेका छैनन् भने मोरङ सभापति डिगबहादुर लिम्बूसहितका नेताहरूले पनि हस्ताक्षर गरेका छैनन् ।
कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूलाई हस्ताक्षर नगरेको विषयमा सोध्दा उनले तत्काल हस्ताक्षर अभियानलाई बढावा दिनुको सट्टा केन्द्रीय समितिको बैठकबाट निकास खोज्नुपर्ने मत राखेका छन् । उनी पनि शेखर कोइराला निकट नै हुन् ।
‘केन्द्रीय समितिले यसैमा एउटा निकास दिन्छ,’ लिम्बूले भने, ‘यसमा सही गर्ने, नगर्ने भनेर विवाद नगरौं । केन्द्रीय समितिले निकास दिएन भने जिल्लाले संस्थागत रूपमा यो व्यवस्था पनि गर्छ ।’
लिम्बूले अहिले देश र पार्र्टी जलिरहेको बेला विशेष महाधिवेशनको डंका पिटेर सत्ताका लागि मात्रै जस्तो देखाउनु नहुनेमा जोड दिए । उनले पार्टीलाई क्षतविक्षत हुनबाट जोगाउन र देशलाई बचाउन नेतृत्व परिवर्तन मात्रै ठूलो कुरा नभई पार्टी व्यवस्थापन महत्वपूर्ण रहेको बताए ।
‘नियमित महाधिवेशन गरिसकेपछि जो नेतृत्वमा आउँछ, हामी नया नेतृत्व लिएर चुनावमा जान्छौं, अहिलेको नेतृत्व लिएर जाँदैनौं भनेकै छौं,’ उनले भने, ‘यस्तो बेला चाहिँ एकढिक्का भएर अगाडि बढ्ने वातावरण निर्माण गर्ने पक्षमा छौं ।’
View : 2275
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved