Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

एनपिएल :

सन्दीपको उत्कृष्ट बलिङमा जनकपुरविरुद्ध विराटनगरको तेस्रो जीत

उद्‌घोष संवाददाता
८ मंसिर २०८२, सोमवार

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा विराटनगर किङ्ग्स विजयी भएको छ ।

विराटनगर लगातार आफ्नो तेस्रो खेलमा विजयी भएको हो । आजको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई नौ रनले हराएको हो ।

जितका लागि १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय २६ रन मात्रै बनाउन सक्यो ।

जनकपुरका लागि निकोल लेफ्टी इटनले ४१, लाहिरू मिलन्थाले २३, सञ्जय कृष्णमुर्तिले २० तथा आशिफ शेखले १३ रन बनाए । बलिङतर्फ विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए ।

उनले चार ओभर बलिङ गर्ने क्रममा मात्र ११ रन खर्चिए । यस्तै सूर्य तामाङले दुई तथा मर्चेन्ट डे लाङले र शुभम रन्जनेले एक एक विकेट लिए ।

यसअघि त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन बनायो ।

विराटनगरका लागि शुभम रन्जनेले सर्वाधिक ३७ रनको योगदान दिए । उनले २९ बल खेल्दै दुई छक्का र दुई चौका प्रहार गरे । यस्तै बसिर अहमदले ३५ बलमा तीन छक्काको मद्दतमा ३६ रन बनाए ।

प्रारम्भिक ब्याटर लोकेश बमले २६ बल खेल्ने क्रममा एक छक्का र दुई चौका हान्दै २८ रनको योगदान दिए ।

यस्तै मार्टिन गुप्टिलले १३ र जर्ज मुन्सेले १० रन बनाए । विराटनगरका दुई ब्याटर रनआउट भए । बलिङतर्फ जनकपुर बोल्टस्का रूपेश सिंह र सङ्गीथ कुरेले दुई दुई तथा आदित्य महताले एक विकेट लिए ।

यसअघि विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौँविरुद्ध जित दर्ज गरेको थियो ।

तेस्रो खेलमा जितेसँगै विराटनगर ६ अंकसहित शीर्ष स्थानमा पुगेको छ । आजको दोस्रो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच जारी छ ।

View : 215

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved