विराटनगर । बिहीबार शुरु भएर शुक्रबार सम्पन्न भएको श्रमाधान रोजगार मेला पाँच हजार बढीले अवलोकन गरेका छन् । सातै प्रदेशमा हुने रोजगार मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बिहीबार गरेका थिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका लगायत निजी क्षेक्रहरुसँगको सहकार्यमा आयोजित सो रोजगार मेलामा बिहीबार ३ हजार र शुत्रबार २ हजार गरी ५ हजार बढिले अवलोकन गरेको जनाइएको छ ।
विराटनगरको सिटी पार्टी प्यालेसमा आयोजित मेलाको अवलोकनका लागि पुगेकाहरु मध्ये करीव दुई हजारले रोजगारीका लागि आवेदन दर्ता गराएको जनाइएको छ ।
रोजगार मेलामा रोजगारदाताले भने स्वास्थ्य क्षेत्रका ४२ जना र उत्पादनमूलक उद्योगका लागि दुई हजार ४९५ जना गरी २ हजार ५३७ जना दक्ष कामदारको माग गरेका थिए ।
उनीहरु मध्ये मेलास्थलमै ४० जना बढीको रोजगारी सुनिश्चित भएको मेला संयोजनकर्ता नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिले जनाएको छ । आवेदकहरु मध्ये २५० जना बढीलाई रोजगारदाताले अन्तरवार्ताका लागि बोलाएका छन् ।
मेलामा उद्योग प्रतिष्ठानका ३४, रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका ७, बैंक तथा वित्तीय संस्था र बीमासम्बन्धी ४ वटार नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकासहितका स्थानीय तहका रोजगार सूचना केन्द्रसमेतको गरी ७ वटा स्टल राखिएको थियो ।
आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले रोजगार मेला आयोजना गरिएको थियो ।
View : 136
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved