Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

प्रदेश लगानी सम्मेलन अनिश्चयको भुमरीमा

‘सरकारको काम कसैलाई लडाउने भिडाउने होइन, तटस्थ भएर भूमिका निर्वाह गर्नुपर्छ’ सारडा भन्छन्, ‘विभिन्न चेम्बरस्तरीय संस्थालाई सहआयोजक राख्ने अनि सल्लाह र सहमतिबेगर नै व्यवस्थापनको जिम्मा एकपक्षीय रुपमा दिने ? हामीलाई मान्य हुने छैन ।’
उद्‌घोष सम्वाददाता
२० मंसिर २०८१, बिहिवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको दोहोरो भूमिकाले उनै नेतृत्वको सरकारले यही माघ ११–१३ मा गर्ने भनिएको प्रदेश लगानी सम्मेलन अनिश्चयको भुमरीमा परेको छ । व्यवस्थापनको विषयलाई लिएर यहाँका उद्योगी व्यवसायीका संस्था विभाजित भएपछि सम्मेलन घोषित मितिमा हुने नहुने अनिश्चितता बढेर गएको हो ।

लगानी सम्मेलनको आयोजक प्रदेश सरकारले सम्मेलनको व्यवस्थापन यहाँको उद्योग संगठन मोरङलाई एकल रुपमा दिएपछि नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले आपत्ति जनाएको छ । परिसंघले सम्मेलनको व्यवस्थापन कुनै एक संस्थालाई एकल रुपमा दिएको खण्डमा आफूहरू सहभागी नहुने भनेर मुख्यमन्त्री कार्कीलाई पत्र बुझाएको छ । 

परिसंघका अध्यक्ष पवनकुमार सारडासहितको टोलीले मुख्यमन्त्री कार्कीलाई पत्र बुझाउँदै लगानी सम्मेलनको व्यवस्थापनका विषयमा सरकारको दोहोरो नीतिप्रति आपत्ति प्रकट गरेको छ । 

आफूहरूको पत्र र ध्यानाकर्षण वेवास्ता गर्न खोजिए सम्मेलन भाँडिन सक्ने परिसंघका अध्यक्ष सारडाले चेतावनी दिएका छन् । उनले प्रदेश लगानी सम्मेलनको जिम्मा कुनै जिल्ला वा नगरस्तरीय संगठनलाई दिएको खण्डमा आफूहरूलाई मान्य नहुने बताएका छन् । 

यता, लगानी सम्मेलनको व्यवस्थापनको जिम्मा पाएको भनिएको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना सबैको साथ सहयोगमा सम्मेलन सफल पारिने बताउ“छन् । उनी संगठनले आयोजना गर्न लागिएको एक्स्पो (व्यापार मेला) नै लगानी सम्मेलनको उपयुक्त प्लेटफर्म भएको दावी गर्छन् । 

‘एक्स्पो भन्नासाथ त्यही पुरानो ढर्राको सोच्नुभएको होला, तर हामी यसपटक लगानी सम्मेलनलाई टार्गेट गरेर सोहीअनुरुपको डिजाइन गरिरहेका छौं’ सुरानाले भने । 

उनले सरकारले निजी क्षेत्रलाई पत्याएर व्यवस्थापनको जिम्मेवारी दिंदा खुशी हुनुपर्नेमा परिसंघले अनावश्यक टाउको दुखाएको दुखेसो व्यक्त गरेका छन् । ‘यो त हामी सबैका लागि अवसर हो, पालैपालो मिलाएर यस्तो सम्मेलन गर्दा के बिग्रन्छ र ?’ उनी भन्छन् । 

अध्यक्ष सुरानाले प्रदेश लगानी सम्मेलनका लागि पाएसम्मको अवसर सदुपयोग गरेर विदेशी लगानीकर्तालाई निम्ता गर्ने कामको सुरुवातसमेत भइसकेको बताउँछन् । ‘भर्खरै हामीले सिंगापुरमा भेटेसम्मका लगानीकर्तालाई प्रदेश लगानी सम्मेलनका बारे बताएका छौ’ सुरानाले भने, ‘अब यसलाई निम्ता गरेको भन्नुस् वा प्रचार गरेको प्रदेशवासी हुनुको नाताले हामीले एउटा कर्तव्य पूरा गरेका छौं ।’

यद्यपि सरकारले आयोजना गर्ने कार्यक्रमलाई साझा र सबैको स्वीकार्य बनाउने कामको जिम्मेवारी र दायित्व सरकारकै भएको परिसंघका अध्यक्ष सारडा बताउँछन् । 

‘सरकारको काम कसैलाई लडाउने भिडाउने होइन, तटस्थ भएर भूमिका निर्वाह गर्नुपर्छ’ सारडा भन्छन्, ‘विभिन्न चेम्बरस्तरीय संस्थालाई सहआयोजक राख्ने अनि सल्लाह र सहमतिबेगर नै व्यवस्थापनको जिम्मा एकपक्षीय रुपमा दिने ? हामीलाई मान्य हुने छैन ।’

यही माघ ११ देखि १३ गतेसम्म कोशी प्रदेश सरकारले प्रदेश लगानी सम्मेलन गर्ने घोषणा गरेको छ । तर, सरकार आयोजक हुने सम्मेलनको तयारीकै चरणमा व्यवस्थापनको विषयलाई लिएर विवाद सुरु भएको छ । व्यवस्थापनको विषयलाई लिएर यहाँका उद्योगी व्यवसायीहरूबीच केही दिनदेखि मतभेद सुरु भएको हो । 

प्रदेश सरकारले उक्त लगानी सम्मेलनका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिसहित उद्योग व्यवसायी सम्वद्ध संघसंस्थालाई सहसंयोजक राखेर मुल आयोजक समिति भने गठन गरिसकेको छ । तर सरकारले उद्योग संगठन मोरङलाई मात्रै जिम्मेवारी सुम्पिने योजना बनाएको भन्दै त्यसलाई रोक्न नेपाल उद्योग परिसंघले प्रदेश सरकारलाई दबाब वढाइरहेको छ ।

View : 103

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved