विराटनगर । पाँच जना महिलाको सामूहिक कुटपिटबाट झापाको अर्जुनधारामा एक महिलाले ज्यान गुमाउनु परेको छ ।
महिलाहरुको कुटपिटबाट गम्भीर घाइते भएकी अर्जुनधारा-४ की २२ वर्षीया गरिमा राई भनिने गंगा सार्कीको मृत्यु भएको झापाका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।
यो घटना मंगलबार रातिको हो । गंगा अर्जुनधारा-८ को शनिश्चरे क्याम्पस नजिकै बस्दै आएकी थिइन् । उनी स्थानीय प्रकाश गिरीको घरमा डेरा गरेर बसेकी थिइन् ।
गंगाको डेरामा आफ्ना पति गएको भन्दै सुस्मिता भुसालले आफ्ना साथीहरु लिएर कोठामै गएकी थिइन् ।
‘राति ११ बजेतिर गंगाको कोठामा पुगेका ५ जनाले उनीमाथि निर्घात कुटपिट गरेको देखिन्छ,’ डिएसपी खड्काले भने ‘उनको साथमा ५४ वर्षीय मैयाँ श्रेष्ठ, ३८ वर्षीय बबिता विक, २४ वर्षीय मेनुका पाँचकोटी र ६० वर्षीय नर्बदा सुन्दासले कुटपिट गरेको खुलेको छ । उनीहरु र सुस्मिताका पति रमेश भुसाललाई पक्राउ गरिसकिएको छ ।’
कुटपिटबाट गम्भीर घाइते गंगालाई शनिश्चरेस्थित शंकर अस्पतालमा लगिएको थियो ।
त्यहाँबाट बिर्तासीटी अस्पताल पुर्याएकी उनको उपचारकै क्रममा बुधबार बिहान साढे एक बजेतिर मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
मृतक गंगा विवाहित महिला हुन् ।
View : 398
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved