Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

बखरीमा ग्रामथान बनाउन महायज्ञ शुरू

उद्‌घोष सम्वाददाता
१६ मंसिर २०८१, आइतवार

विराटनगर । विराटनगर– १२ बखरीमा ब्रह्म ग्रामथान निर्माणको उद्देश्यसहित श्रीमद्भागवत सप्ताह ज्ञान धनधान्याञ्चल महायज्ञ शुरू भएको छ । श्री बखरी ब्रह्म ग्रामथान संरक्षण समिति एवम् भागवत पुराण समितिको आयोजनामा बखरीस्थित स्कुल टोलमा शनिबारबाट महायज्ञ शुरू भएको हो । 

महायज्ञ शुरू गर्नुअघि सो ठाउँमा कलश यात्रा निकालिएको छ । पुराणस्थलबाट निकालिएको कलशयात्राका सहभागीले वडाको पश्चिमतर्फ रहेको केशलिया खोलाबाट जल भरेका थिए । 

सो क्रममा कलशयात्राका सहभागीले ग्रामथान हुँदै दरैया, मल्हनवा, सिधुनन्द मार्ग, कामतचोकबाट पञ्चमुखीचोकलगायतका क्षेत्रको परिक्रमा गरेका थिए । कलशयात्रामा ५ सय ५१ जना महिलाले कलश बोकेका थिए भने एक हजार बढीको सहभागिता थियो । 

वडाभित्र रहेको प्राचीन ब्रह्मथानमा पर्खालसहितका भौतिक संरचना निर्माण गर्ने उद्देश्यसहित साताब्यापी श्रीमद्भागवत आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष केदारनाथ कामतले बताए । 

साताब्यापी धार्मिक कार्यक्रमअन्तर्गत राष्ट्रियस्तरका कलाकारहरूद्वारा संगीतमय भजनका साथै झाँकीहरूसमेत प्रस्तुत गरिने सचिव वीरेन्द्रकुमार साहले जानकारी दिए । 

महायज्ञमा बाल ब्यास पण्डित कपिलदेव चालिसेले कथा वाचन गर्ने जनाइएको छ । 

महायज्ञबाट १५ लाख संकलन हुने लक्ष्य राखिएको विराटनगर– १२ का वडा सदस्य कुशेश्वर राजवंशीले जानकारी दिए । महायज्ञ २२ गतेसम्म चल्ने छ ।

View : 62

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved