Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

इलामका क्षतिग्रस्त सडक र पुल पुनर्निर्माण गर्न २ अर्ब स्रोत सहमति

३९ जनाको मृत्यु र ठूलो भौतिक संरचनामा क्षति पुग्नेगरी मनसुनजन्य विपद् घटना भएपछि सरकारले २३ असोजमा इलामलाई ३ महिनाका लागि ‘विपद् संकटग्रस्त’ घोषणा गरेको थियो ।
उद्‌घोष संवाददाता
१५ पुष २०८२, मङ्गलवार

विराटनगर । गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । 

क्षतिग्रस्त सडक तथा पुल मर्मत तथा पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेका कार्यक्रममा अर्थ मन्त्रालयले स्रोत सहमति प्रदान गरेको हो  ।

क्षति भएका मेची राजमार्ग, माइखोला पुल राजदुवाली, माइखोला पुल बेलवासे, पुवाखोला पुल, जोगमाईखोला पुल, मेची करिडोरको मर्मत तथा पुनर्निर्माणमा उक्त रकम खर्च गरिने छ  । 

अर्थ मन्त्रालयले चालू आवका लागि तत्काल आवश्यक पर्ने ५४ करोड रुपैयाँ निकासा दिएको छ । 

स्रोत सहमति प्राप्त भएकाले अव सडक तथा पुल पुनर्निर्माणका लागि खरिद (टेण्डर) प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ  ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले विपद्बाट क्षतिग्रस्त सडकका संरचना मर्मत तथा पुनर्निर्माणका लागि स्रोत सुनिश्चित भएकाले टेण्डरको प्रक्रिया तत्काल अगाडि बढाउन सडक विभागलाई निर्देशन दिएका थिए । 

उक्त कार्य विभाग मातहतको सडक डिभिजन, इलामले कार्यान्वयन गरिनेछ ।

३९ जनाको मृत्यु र ठूलो भौतिक संरचनामा क्षति पुग्नेगरी मनसुनजन्य विपद् घटना भएपछि सरकारले २३ असोजमा इलामलाई ३ महिनाका लागि ‘विपद् संकटग्रस्त’ घोषणा गरेको थियो । 

असोज चौथो साता मन्त्री घिसिङ, सचिव केशवकुमार शर्मा,  तत्कालिन गृहसचिव रामेश्वर दंगाल, सडक विभागका महानिर्देशक विजय जैसी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशराज भट्टको टोलीले इलाम पुगेर विपद्को क्षति निरीक्षण गरेको थियो । 

टोलीले विपदबाट प्रभावितका भएका घरपरिवारका लागि तत्काल राहत उपलब्ध गराउने, क्षति पुगेका संरचनाको तत्काल मर्मत सम्भार गरी जनजीवन सामान्य बनाउने र आवश्यक तत्कालीन तथा दीर्घकालीन योजना ल्याउने प्रतिबद्धता जनाएको थियो ।

सबैभन्दा बढी रकम मेची राजमार्गको पुनर्निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति प्रदान गरिएको छ । 

मेची राजमार्गअन्तर्गतकै माइखोला मोटरेवल स्थायी पुल राजदुवालीका लागि २० करोड, मेची करिडोरको माइखोलामा मोटरेवल स्थायी पुल वेलासेका लागि २५ करोड, पुवाखोला र जोगमाईखोला पुलमा बेली ब्रिज निर्माण गर्न ५–५ करोड र मेची राजमार्गको बैकल्पिक सडकको रुपमा रहेको मेची करिडोरका लागि १४ करोड रुपैयाँको स्रोत सुनिश्चिता प्रदान गरिएको छ । 

यसमध्ये, मेची राजमार्गका लागि २५ करोड, माइखोला राजदुवाली तथा माइखोला पुल वेलासेका लागि क्रमशः ५ तथा १० करोड र मेची करिडोरका लागि ४ करोड रुपैयँ चालु आवमा तत्काल आवश्यक रकम निकासा दिइएको छ । 

दुई वटा बेली ब्रिजका लागि आवश्यक सम्पूर्ण रकम निकासा दिइएको छ ।

View : 152

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved