विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ मा ६९ वर्षीय टंकबहादुर बस्नेत आफ्नै भाउजूको हत्या आरोपमा पक्राउ परेका छन् ।
बस्नेतले ६० वर्षीया भाउजु टीकामाया कार्की बस्नेतको हत्या गरेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुडालका अनुसार शनिबार दिउँसो चार बजेतिर बारीमा घाँस काट्न गएकी टीकामायाको शव फेला परेको थियो ।
अभियुक्त टंकबहादुरका दाजु गणेशबहादुरकी पत्नी टीकामायाको शव बारीमा फेला परेपछि प्रहरीले अस्वाभाविक मृत्यु भएको भन्दै सुक्ष्म अनुसन्धान गरेको थियो ।
‘अस्वाभाविक रूपमा ज्यान गएको देखिएपछि अनुसन्धान गरेका थियौं’ डीएसपी चुडालले भनिन् ‘शवको परीक्षण गर्दा मृतकको टाउँको पछाडि घुच्चुकमा चोट पनि देखिएको छ ।’
टंकबहादुर र उनका दाजु गणेश बहादुरबीच अंश विवाद रहेको र सोही कारण टंकबहादुरले भाउजुको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ६९ वर्षीय टंकबहादुरलाई रतुवामाई–६ स्थित आफ्नो घरबाट नियन्त्रणमा लिएको जनाइएको छ ।
View : 382
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved