विराटनगर । सत्ता गठबन्धनको सहमति अनुसार कोशी प्रदेशमा नेपाली कांग्रेसको भागमा रहेको स्वास्थ्य मन्त्रालय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कांग्रेसलाई नै दिएका छन् ।
कांग्रेसको भागमा रहेर पनि मन्त्री पठाउन नसकेका कारण उक्त मन्त्रालय मुख्यमन्त्री कार्की आफैँले सम्हाल्दै आएका थिए ।
मुख्यमन्त्री कार्कीको सिफारिसमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईलाई नै बिहीबार तोकिएको छ ।
प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री कार्कीबाट बिहीबार प्राप्त सिफारिसका आधारमा मौजुदा मन्त्रिपरिषद्मा हेरफेर र कार्यविभाजन भएको विज्ञप्तिमार्फत जनाएको छ ।
उक्त हेरफेर र कार्यविभाजनमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कांग्रेसका राईलाई तोकिएको छ ।
कोशी प्रदेशमा कांग्रेस–एमाले गठबन्धनको सरकार निर्माण भएको चार महिनापछि गत भदौ २ं८ मा कांग्रेस सरकारमा गएको थियो । तर नेता डा. शेखर कोइराला समुहले दुईवटा मन्त्रालयमा दाबी गरेपछिको विवाद कायमै छ ।
कांग्रेसबाट संस्थापन देउवा र अर्का नेता कृष्ण प्रसाद सिटौला समुहबाट मात्रै सरकारमा मन्त्रीहरू पठाइएका छन् । कोइराला समुहलाई छाडिएको स्वास्थ्य मन्त्रालयमा कांग्रेसले मन्त्री नपठाउँदा दुई महिनादेखि मुख्यमन्त्री कार्कीले नै सो मन्त्रालय पनि सम्हाल्दै आएका थिए ।
बिहीबारदेखि भने कांग्रेसको भागको मन्त्रालय उनले कांग्रेसलाई नै सुम्पिएका हुन् । स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी प्राप्त गरेका राई सिटौला समुहबाट पहिलो नम्बरमा मन्त्री बनेका थिए ।
View : 127
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved