Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

खानपिनपछिको विवादमा घाँटी काटियो

उद्‌घोष संवाददाता
४ भदौ २०८२, बुधवार

विराटनगर । बिवादको कुनै विषय नभए पनि अर्को टोलका  युवाहरूलाई आफू बलियो भनेर हेप्ने प्रवृत्तिले युवा बीच ठुला घटना हुने गरेका छन् । मोरङ कटहरी–३ मा यस्तै घटना भएको छ ।

वडा नम्बर ४ का युवाहरू ३ नम्बर वडामा गएर खानपिन गर्ने क्रममा सोमबार दिउँसो दुई समूह बीच बिवाद भएको थियो । 

खानपिनको बिवाद सामान्य हात हालाहालमा पुगेपछि आजम शेखको घाँटी रेटिएको छ । उनको राती नै शल्यक्रिया भएको छ । 

धारिलो हतियारले काटिएकाले घाँटीको स्वास नलीसम्म चोट देखिएको घाइतेका मामा सबिब शेखले बताए ।

घटनापछि अर्को टोलका युवा आएर आक्रमण गर्न सक्ने भयले घटनामा संलग्न नभएका युवाहरू पनि त्रसित भएको स्थानीयको भनाइ छ । 

बेलाबेलामा सो क्षेत्रमा मादक पदार्थ र गाँजा सेवन गरेर फरक टोलका युवाहरूबीच समूहमा बिवाद हुँदै आएको स्थानीयले बताएका छन् । 

घाइते आजमको विराट नर्सिङहोमको अति सघन कक्षमा उपचार भइरहेको र सामान्य टाउको हल्लाउने अवस्थामा रहेको कटकरी–४ का पूर्ववडाध्यक्ष मन्टु शेखले बताए । 

३ नम्बर वडाका युवाले ४ नम्बरका युवालाई किन कुटपिट गरे भनेर सोध्न बेलुका आजम र अर्का एक युवक घटना भएको ठाउँमा गएका थिए ।

सोधपुछ गर्न आउनेकै घाँटी रेटिएको बताइएको छ । घटनापछि पुगेको प्रहरीले एक जनालाई पक्राउ गरेको र दुई जना फरार रहेको बताइएको छ । उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।

घटनामा संलग्नमध्ये पक्राउ परेका कृष्ण सहनीलाई ज्यान मार्ने उद्योगमा मंगलबार मुद्दा दर्ता गरिएको मोरङका प्रहरी नायव उपरीक्षक कोपिला चुडालले बताइन् ।

View : 490

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved