Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

पुनर्निर्माणपछि फेरि सञ्चालनमा आयो नेपालिरिका होटल

उद्‌घोष संवाददाता
९ कार्तिक २०८२, आइतवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा–९ विराटचोकस्थित नेपालिरिका होटल पुनर्निर्माणपछि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ ।

जेनजी आन्दोलनका क्रममा क्षति पुगेको होटललाई आधुनिक ढाँचा, मनमोहक वातावरण र व्यवस्थित सेवासहित पुनर्निर्माण गरी होटलले नयाँ स्वरूपमा तिहारको लक्ष्मीपूजाबाट सेवा प्रदान गर्न थालेको हो ।

नेपालिरिका होटल विनाशको पीडाबाट बाहिर निस्कदै पुनर्निर्माणपश्चात थप भव्यताका साथ सञ्चालनमा आएको सञ्चालक भोलश्वर दुलालले बताए । 

पीएलओ ग्रुपद्वारा सञ्चालित यो होटल पुनर्निर्माणपछि नयाँ स्वरूपमा ग्राहकमाझ फर्किएको हो । यसले लगानीकर्ताको दृढ संकल्प र पूर्वी नेपालको पर्यटकीय सम्भावनालाई पुनः उजागर गरेको छ ।

वि.सं. २०७० को दशकको सुरुवातमै यो होटलको निर्माण कार्य सुरु भएको थियो । 

सुरुमा सानो लगानी र सीमित सेवासहित सुरु गरिएको यो होटलले बिस्तारै आफ्नो लगानी र क्षमता बढाउँदै लगेको छ । 

सुइट्स रुम, रेस्टुरेन्ट, बार, बैंक्वेट हल, स्विमिङ पुल, स्पा र कन्भेन्सन सेन्टर जस्ता सुविधाहरू भएको होटलमा क्षमता १ सय ३५ कोठा छ । 

एक दशकभन्दा पुरानो सपनाको उपजका रुपमा पीएलओ ग्रुपका अध्यक्ष भोलेश्वर दुलाल र उनको समूहले पूर्वी नेपालको बढ्दो व्यावसायिक र पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै यो होटलको परिकल्पना गरेका थिए ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट करिब २७ करोड रुपैयाँभन्दा बढीको क्षति व्यहारेको नेपारिका झण्डै डेढ महिनाकै बीच पुनः सञ्चालनमा आएको हो । 

उक्त घटनाबाट हार नमानी तत्काल होटलको पुनर्निर्माण गर्ने घोषणा गरेअनुरुप क्षति भएको संरचनालाई छिटोभन्दा छिटो मर्मत सम्भार गरी होटल सञ्चालनमा ल्याउन सफल भएको सञ्चालक दुलालले बताए ।

‘जेनजी आन्दोलनको कारण भएको क्षतिको पीडा र चुनौतीबाट हामीले धेरै कुरा सिकेका छौं । हामीले यसलाई अवसरको रूपमा लिएर होटललाई अझ व्यवस्थित र उत्कृष्ट बनाउन सक्यौं । यो पुनरागमन हाम्रो दृढ संकल्प र लगानीको प्रतिफल हो’ दुलालले भने । 

होटल पुनर्निर्माणमा साथ, सहयोग र माया प्रकट गर्नेप्रति उनले धन्यवाद पनि प्रकट गरेका छन् ।

View : 286

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved