Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

नेपालमा ६ लाखभन्दा बढी घर रित्ता

उद्‌घोष सम्वाददाता
१४ कार्तिक २०८०, मङ्गलवार

काठमाडौं : नेपालमा रहेका घरहरूमध्ये सबैभन्दा बढी एक तले रहेको पाइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर रहेको र यसमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको पाइएको हो । त्यस्तै दोस्रोमा २८.७८ प्रतिशत दुई तले, ९.१७ प्रतिशत तीन तले, १.३ प्रतिशत चार तले, ०.६४ प्रतिशत पाँच देखि ७, ०.०१ प्रतिशत आठदेखि नौ र ०.००३ प्रतिशत १० भन्दा बढी तले घरहरू रहेको पाइएको छ ।

तथ्यांकअनुसार मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात् ८४.४२ प्रतिशत रहेको छ भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी २.३४ प्रतिशत रहेको छ ।

तथ्यांकअनुसार कूल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये सबैभन्दा बढी २७।९५ प्रतिशत घर चार वर्षसम्म पुरानो रहेको छ । सबैभन्दा कम १०० भन्दा बढी वर्षका घरहरू ०.५ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी डा. हेमराज रेग्मीले बताए ।

त्यसैगरी देशभरका कूल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिएको छ । उक्त प्रतिशत सबैभन्दा बढी बागमती प्रदेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २.९८ प्रतिशत रहेको छ ।

देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ४१ लाख २२ हजार ६९० अर्थात् ६१.८९ प्रतिशत परिवारमा कम्तिमा एक जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिएको छ । कूल २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्यामध्ये ७४ लाख ९ हजार १८१ जना अर्थात् २५.५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तिमा एउटा खाता रहेको पाइएको छ ।

यसैगरी कूल १ करोड ४२ लाख ५३ हजार ५५१ जना पुरूषमध्ये २६.४२ प्रतिशत र कुल १ करोड ४९ लाख ११ हजार २७ जना महिलामध्ये २४.७४ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा एउटा खाता रहेको छ ।

सार्वजनिक तथ्यांकअनुसार देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ८ लाख ३६ हजार १२७ अर्थात् १२.५५ प्रतिशत परिवारमा कम्तिमा एक जना व्यक्तिले प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम लिएको देखिएको छ । जम्मा १० लाख ८१ हजार ६४६ जना व्यक्ति अर्थात् ५.६७ प्रतिशत व्यक्तिले सो तालिम लिएको जनाइएको छ ।

देशभरका कूल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये २५.५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएको देखिएको छ । सबैभन्दा बढी मधेस प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशतले ऋण लिएको तथ्याङ्क छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी डा. रेग्मीले सार्वजनिक गरिएको तथ्याङ्कले हाम्रो वित्तीय पहुँच कति छ, सीफयुक्त जनशत्तिको अवस्था, घरको अवस्था कस्तो छ लगायतका विषय समेटिएको बताए ।

उनले यो तथ्याङ्कले जनशक्ति योजना निर्माण गर्न र राष्ट्रले निर्माण गर्ने आवास योजना बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गरे । योजना तर्जुमा गर्न पनि यसको भूमिका हुने उनको भनाइ छ । उपप्रमुख तथ्याङ्क अधिकारी रेग्मीले ६ लाखभन्दा बढी घर रित्तो अवस्थामा रहेको जानकारी दिए ।

View : 159

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved