विराटनगर । नेपाली कांग्रेस कोशी संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले झापाको बाहनडाँगीको हात्ती आतंकको दीर्घकालीन समाधान खोज्न दुई काम तत्कालै गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । बिहीबार प्रदेशसभाको शून्य समयमा बोल्दै प्रमुख सचेतक तामाङले मेची नदी किनारमा जनताको तटबन्धन कार्यक्रममार्फत तटबन्धन गर्नुपर्ने र त्यसमाथि अत्याधुनिक विद्युतीय फेन्सिङ लगाउनुपर्ने बताएका हुन् ।
‘मेचीनगरको साविक बाहुनडाँगीमा पर्ने वडा नम्बर १, २, ३, र ४ मा केही दिनयता भारततिरबाट आउने हुलका हुल हात्तीले ठूलो वितन्डा मच्चाइरहेको छ । स्थानीयबासी पूर्णबहादुर श्रेष्ठ गम्भीर घाइते छन्’, उनले भने ‘उहाँको निःशुल्क उपचारको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गर्दछु ।’ झापा १ (१) का प्रदेशसभा सदस्यसमेत रहेका तामाङले दशकौंदेखि बाहुनडाँगीबासीको ठूलो पीडाको रुपमा रहेको हात्ती समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका हुन् ।
‘खासगरी अन्नबाली भित्र्याउने बेलामा हात्तीले दुःख दिने गरेको छ । अहिले बाहुनडाँगीका बासिन्दाको न रातको निन्द्रा छ, न दिनको चैन छ । कतिखेर घर भत्काउँछ, कतिखेर ज्यान जान्छ, सुरक्षाको कुनै ग्यारेन्टी छैन’ उनले भने ‘ हात्ती नियन्त्रणका लागि गरिएको विद्युतीय फेन्सिङ जीर्ण बनेको छ । त्यहाँ नयाँ र अत्याधुनिक फेन्सिङ जरुरी भइसकेको छ ।’
सघीय सरकारसँग प्रदेशले समन्वय गरेर तटबन्धन निर्माण गर्ने र त्यहीँमाथि अत्याधुनिक फेन्सिङ गर्न प्रदेशले तत्कालै काम थाल्नुपर्ने उनको भनाइ छ । अहिले पुरानो फेन्सिङको मर्मतसम्भार गरेर भए पनि आतंक कम गर्न काम गर्नुपर्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । हात्ती खेद्नकै लागि भनेर बनाइएको सडक जीर्ण रहेको र स्थानीयबासीसँग हात्ती खेद्ने साधन पनि कम भएको भन्दै प्रमुख सचेतक तामाङले हात्ती खेद्ने साधन उपलब्ध गराउन पनि माग गरेका छन् ।
View : 595
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved