विराटनगर । प्रतिनिधि सभा सदस्यको टिकट वितरणमा देखिएको असन्तुष्टि चर्किएर जिल्ला कमिटीका अध्यक्षसहित पदाधिकारीले राजीनामा दिएपछि खाली भएको एमाले ओखलढुंगामा नयाँ कमिटी चयन गरिएको छ ।
पार्टी कार्यालयमा बिहीबार आयोजित भेलाले नयाँ कमिटीको संयोजकमा हर्कबोल राईलाई सर्वसम्मत चयन गरेको जनाइएको छ ।
बैठकले पार्टी संगठनलाई थप सुदृढ बनाउने, आगामी निर्वाचनलाई लक्षित गर्दै जनसम्पर्क विस्तार गर्ने र पार्टीभित्रको एकताका साथ अघि बढाउने निर्णय गरेको जनाइएको छ ।
नयाँ कमिटीले एमालेबाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार अस्मिता थापालाई विजयी गराउने गरी चुनावी अभियान सञ्चालन गर्न कार्ययोजना अघि बढाएको संयोजक राईले बताए । आफूलाई पार्टीले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाए ।
एमालेले क्षेत्रीय र जिल्ला कमिटीबाट सिफारिस नै नभएकी थापालाई उम्मेदवार बनाएपछि टिकटका प्रमुख दाबेदार अम्बिरबाबुर गुरुङसहित उनी निकट रहेका जिल्ला कमिटी अध्यक्ष ज्ञानबहादुर खड्का लगायतले एमाले छाडेका थिए ।
अहिले संयोजकको जिम्मेवारी प्राप्त गरेका राई जिल्ला कमिटीको निर्वाचनमा खड्कासँगै पराजित भएका थिए । राई संविधान सभाका पूर्व सदस्य हुन् ।
राईले संयोजकको जिम्मेवारी पाएसँगै ओखलढुंगामा लामो समयदेखि एमालेको सक्रिय राजनीतिबाट निस्कृय बसेका पूर्व अध्यक्ष शंकर कटुवालसहितका पुराना नेताहरू समेत एमालेमा फर्किएको जनाइएको छ ।
View : 169
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved