Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सुन तस्करीको अभियोगमा पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

महरालाई मुद्दा चलाउन पनि बाटो खुल्ला
उद्घोष सम्वाददाता
२ चैत २०८०, शुक्रवार

काठमाडौँ, २ चैत । सुन तस्करीको अभियोगमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । दिपेश नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनका केन्द्रीय महासचिव एवं संगठन प्रमुख समेत हुन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले पुनलाई काठमाडौँबाट पक्राउ गरिएको पुष्टि गरेका छन् ।

गत साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झण्डै ६१ किलो सुन प्रकरणका मुख्य आरोपी दावाछिरिङसँग पुनको सम्बन्ध रहेको अनुसन्धानका क्रममा खुलेको छ ।

बिहीबार गृहमन्त्रीसमक्ष पेस गरिएको सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पुनको संलग्नता खुलाइएको थियो ।

पक्राउ परेका पुन बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि मुछिएका छन् ।

यसैबिच सुन तस्करी प्रकरणमै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराविरूद्ध पनि  मुद्दा चलाउन सिफारिस भएको छ ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई ९ किलो सुन तस्करी प्रकरणमा मुद्दा चलाउनुपर्ने सिफारिस गरेको जनाइएको छ । आयोगले उक्त प्रतिवेदन बिहीबार नै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाइसकेको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महराविरुद्ध यसअघि  मुद्दा नचलाएर उन्मुक्ति दिएको थियो । इलेक्ट्रिक चुरोट (भेप) मार्फत् तस्करी भएको ९ किलो सुन प्रकरणमा सिआइबीले उनलाई कागज मात्रै गराएर छाडेको थियो ।

महराका छोरा राहुल महरा भने सोही सुन तस्करी मुद्दामा हाल पुर्पक्षका लागि थुनामा बसिरहेका छन् ।

View : 232

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved