मातृभाषा जोगाउने अभियान
विराटनगर । नेवाः समुदायको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा मातृभाषाप्रतिको अपनत्व अभिवृद्धि गर्ने उद्देश्यले विराटनगरमा आयोजित १५ दिने नेपाल भाषा प्रशिक्षण भव्य रूपमा सम्पन्न भएको छ ।
झी पुँचः (नेपाल भाषा तथा साँस्कृतिक संघ), विराटनगर–१० को आयोजनामा सञ्चालन भएको उक्त प्रशिक्षण कार्यक्रम आइतबार एक समारोहबीच समापन गरिएको हो ।
यस प्रशिक्षणको सबैभन्दा ठूलो विशेषता बालबालिकादेखि लिएर वरिष्ठ नागरिकसम्मको उत्साहजनक उपस्थिति रह्यो ।
प्रशिक्षणमा राजनीति, कानुन, प्राध्यापन, इन्जिनियरिङ र कला क्षेत्रका ख्यातिप्राप्त व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
संस्कृतिविद् तथा बहुभाषाविद् गणेश बज्राचार्यले सहभागीहरूलाई नेपाल भाषाको बोलचाल, लेखन, व्याकरण, साहित्य, इतिहास र नेवाः संस्कृतिका विविध पक्षमा व्यावहारिक ज्ञान प्रदान गरेका थिए ।
प्रशिक्षणमा विभिन्न उमेर समूहका तीन दर्जनभन्दा बढी नेवाः समुदायका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो जसमा ११ वर्षीय शुभम् श्रेष्ठ, ११ वर्षीया आराध्या श्रेष्ठ, १३ वर्षीय रूविन श्रेष्ठ, १७ वर्षीया प्रभा श्रेष्ठ र उर्वशी श्रेष्ठलगायत बालबालिका तथा युवाहरू सहभागी थिए ।
यसैगरी सिभिल इञ्जिनियर सचिन श्रेष्ठ, कलेज सञ्चालक एवं तरुण दलका नेता सुनिल श्रेष्ठ, वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठ र कलाकार पुनमप्रकाश श्रेष्ठ, औषधि व्यवसायी हरिमोहन श्रेष्ठलगायत विज्ञ तथा व्यवसायीहरूको समेत सहभागता थियो ।
प्राडा सम्झना श्रेष्ठ तथा नेपाली कांग्रेसकी नेतृ एवं नेपाल महिला संघ विराटनगरकी सभापति ६७ वर्षीया शिला श्रेष्ठले समेत सक्रिय रूपमा प्रशिक्षण लिएका थिए ।
झी पुँच: विराटनगरका अध्यक्ष एवम् कार्यक्रम संयोजक शरद श्रेष्ठले भाषा केवल सञ्चारको माध्यम मात्र नभई समुदायको इतिहास, सभ्यता र पहिचानको मुख्य आधार भएकोले नयाँ पुस्तामा यसको पुस्तान्तरण अपरिहार्य रहेकोबारे प्रकाश पार्नुभयो ।
उनले यस्ता कार्यक्रमले मातृभाषाप्रतिको आत्मीयता बढाउनुका साथै सांस्कृतिक निरन्तरतामा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।
झी पुँचःका अध्यक्ष शरद श्रेष्ठले मातृभाषा जोगाउनु हामी सबैको साझा दायित्व भएको बताउँदै आगामी दिनहरूमा पनि यस्ता रचनात्मक प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिइने समेत प्रतिबद्धता व्यक्त गरेका थिए ।
समापन समारोहमा प्रशिक्षणका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । साथै, उत्कृष्ट प्रशिक्षण दिने प्रशिक्षक गणेश बज्राचार्य र सक्रिय प्रशिक्षार्थी रूविन श्रेष्ठ लगायतलाई विशेष सम्मानसहित कदरपत्र प्रदान गरिएको थियो ।
View : 220
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved