प्रतिनिधिसभा निर्वाचन
विराटनगर । कोशीको हिमाली जिल्ला ताप्लेजुङ नेकपा एमालेको सबैभन्दा बलियो किल्ला मानिन्छ । यसको प्रमाण हो, २०७९ को निर्वाचन ।
नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितका दलहरुको गठबन्धन हुँदा पनि योगेश भट्टराईले जीत हात पारेको ताप्लेजुङमा भट्टराई यसैपटक चाहिँ टिकटबिहीन बने ।
११ औं महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भट्टराई एमालेका त्यस्ता हाइप्रोफाइल नेता हुन्, जो यो चुनावमा टिकटबिहीन बन्ने एक्लो पदाधिकारी हुन् ।
अध्यक्ष केपी ओलीको विपक्षमा उभिएको सजायस्वरुप टिकट नदिइएका भट्टराईका समर्थकहरुको भूमिका यसपटक के होला ? सम्भवतः ताप्लेजुङको चुनावी नतिजामा यो फ्याक्टर निर्णायक हुनेछ ।
संविधानसभाका दुईवटा निर्वाचनमा काठमाडौंमा हार खेपेपछि योगेश आफ्नै गृहजिल्ला फर्केका थिए । उनलाई ताप्लेजुङवासीले दुवैपटक संसद्मा पठाएका थिए ।
लामो समय ओली विरोधी कित्तामा रहेका भट्टराई यसबीचमा ओलीकै अभिव्यक्तिको बचाउमा लाग्दा आफ्नै गृहजिल्लामा भने आलोचित बने ।
त्यही निहुँ पारेर ओलीले योगेशलाई पन्छाएर आफ्ना विश्वासपात्र क्षितिज थेवेलाई अघि सारेको यो निर्वाचनमा एमालेभित्र रहेको असन्तुष्टिलाई आफ्नो हतियार बनाउने ध्येयमा अन्य दलहरु छन् ।
एउटै मात्र निर्वाचन क्षेत्र भएको ताप्लेजुङमा यसपटक ९० हजार ३२७ मतदाता छन् ।
विगत दुई निर्वाचन लगातार जित्दै आएका योगेशको सट्टा एमालेले थेबेलाई अघि सारेपछि एमालेभित्रै असन्तुष्टि जति छ, अन्य दलभित्र आशा पनि पलाएको छ । यही निर्णयले एमालेको गढ मानिने ताप्लेजुङमा विपक्षी दललाई यसपटक खेल्ने ठाउँ दिएको छ ।
पछिल्ला चारवटा निर्वाचनमा भएको एकल प्रतिस्पर्धा होस् वा गठबन्धन, सबैमा एमाले अपराजित रहँदै आएको ठाउँ हो ताप्लेजुङ ।
यसपटक एमालेका उम्मेदवार बनेका क्षितिजका बुबाआमा नै संसद्मा प्रतिनिधित्व गरिसकेका छन् ।
उनका बुबा भूपेन्द्र थेबे २०७० सालमा सांसद निर्वाचित भएका थिए भने आमा उर्मिला थेबे २०७९ मा समानुपातिक सांसद भएकी थिइन् । एमाले ताप्लेजुङको नेतृत्व पनि लामो समय थेबे परिवारकै हातमा रहँदै आएको छ ।
२०७९ को निर्वाचनमा योगेशले कांग्रेससँग गठबन्धनमा रहेका माओवादी उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतको झिनो अन्तरले पराजित गरेका थिए । यही कारण योगेश ‘फ्याक्टर’ यसपटक निर्णायक बन्ने अनुमान छ ।
एमालेभित्र असन्तुष्ट समूहलाई चुप लगाउन स्वयं योगेश सक्रिय देखिए पनि सबै मत फर्किन्छ भन्नेमा ढुक्क हुन सकिने अवस्था छैन ।
यही कमजोरीलाई विपक्षी दलहरूले अवसरका रूपमा हेरेका छन् । कांग्रेसबाट जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याङ लिम्बू उम्मेदवार छन् ।
माओवादी पृष्ठभूमिबाट आएका खेलप्रसाद बुढाक्षेत्री नेकपाबाट मैदानमा छन् । रास्वपाबाट वीरेन्द्र श्रेष्ठ, श्रम संस्कृति पार्टीबाट सन्तोष राईसहित १३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
कांग्रेस उम्मेदवार गजेन्द्र एमालेभित्रको असन्तुष्टिलाई आफ्नो जितको आधार बनाउने दाउमा छन् ।
नेकपाका बुढाक्षेत्री अघिल्लो चुनावको असफलताको बद्ला लिने योजनामा छन् ।
रास्वपाले यसपटक उल्लेख्य मत बढाउने आँकलन प्रतिस्पर्धी दलकै छ । हर्क साम्पाङको पार्र्टी पनि पहिलो पटक मैदानमा छ ।
यी दुवैले प्रत्यक्ष जितभन्दा एमालेको परम्परागत मत घटाउने सम्भावना बढी देखिएको कांग्रेसको विश्लेषण छ । एमाले उम्मेदवार क्षितिज भने यो आँकलन स्वीकार्दैनन् ।
नेकपाका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री पनि यसपटक माहोल आफ्नो पक्षमा बन्दै गएको दाबी गर्छन् ।
२०७९ मा २०८ मतले पराजित भएको सहानुभूतिले पनि यसपटक आफूलाई फाइदा हुने उनको अनुमान छ ।
कांग्रेस एकढिक्का नभएको र एमालेभित्र असन्तुष्टि रहेको अवस्थामा आफू पहिलो स्थानमा आउने उनको लक्ष्य छ ।
२०७९ को निर्वाचनमा ताप्लेजुङमा एमालेले १९ हजार ६०४, कांग्रेसले १५ हजार ७३५, माओवादीले ५ हजार १६२ र एकीकृत समाजवादीले १ हजार ५४५ समानुपातिक मत पाएका थिए । प्रत्यक्षमा रास्वपाले उम्मेदवार नउठाएपनि ९७८ समानुपातिक मत पाएको थियो ।
अघिल्ला चुनावको मत संख्या र इतिहासका आधारमा ताप्लेजुङ अझै एमालेकै बलियो आधार क्षेत्र भन्न सकिन्छ । तर, योगेशलाई टिकट नदिने ओलीको निर्णयले पार्टीभित्र चिरा पारेको यथार्थ पनि नकार्न सकिंदैन । यही चिराबाट विपक्षी दल संसद छिर्ने सपना देखिरहेका छन् ।
View : 214
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved