विराटनगर । मोरङका सीमा क्षेत्रबाट हुने अवैध ओसारपसार नियन्त्रणमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । पछिल्लो समय विराटनगरका विभिन्न स्थानमा विशेष सूचनाका आधारमा छापा मार्दै सशस्त्र प्रहरीले बिलबिजकबिनाका सामान तथा अवैध सामग्री बरामद गर्न थालेको हो ।
मोरङको विराटनगर महानगरपालिका–१७ मटेर्वास्थित महमद मुन्ना मियाँ र अंगुरी खातुनको घरमा विशेष सूचनाका आधारमा खानतलासी हुँदा बिलबिजक नभएको ४१ बोरा खाद्यान्न बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म रानीबाट सप्रनाउ सूर्यप्रकाश शर्माको कमाण्डमा खटिएको टोलीले खानतलासी गर्दा उक्त खाद्यान्न फेला पारेको जनाइएको छ ।
बरामद खाद्यान्न आवश्यक कानुनी प्रक्रिया पूरा गरी विराटनगर भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
यसअघि पनि सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–१४ जतुवास्थित सुरेश यादव र शवनम खातुनको घरमा अवैध सामान रहेको आशंकामा छापा मारेको थियो । उक्त क्रममा ठूलो परिमाणमा गुट्खा तथा रजनीगन्धा बरामद गरिएको थियो ।
सीमा क्षेत्रबाट हुने अवैध आयात तथा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले विशेष सूचना संकलन तथा निगरानीलाई तीव्र बनाएको जनाएको छ । विराटनगरका सीमावर्ती तथा शंकास्पद क्षेत्रमा हुने अवैध गतिविधिमाथि निगरानी बढाइएपछि पछिल्ला घटनामा अवैध सामान बरामद हुन थालेका हुन् ।
लगातारका बरामदीले सीमा क्षेत्र हुँदै हुने अवैध सामानको ओसारपसार नियन्त्रणमा सुरक्षा निकायको सक्रियता बढेको देखाएको छ । बरामद सामग्रीको स्रोत, ओसारपसारमा संलग्न व्यक्ति तथा कानुनी अवस्थाबारे सम्बन्धित निकायले थप अनुसन्धान गर्ने जनाएको छ ।
View : 18
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved