विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको डिपोमा अराजक समुहबाट तोडफोड हुने सुचना पाएपछि नेपाली सेना परिचालन भएको छ ।
जेनजी समुहको प्रदर्शनमा मौकाको फाइदा उठाएर समावेश भएका अराजक समुहले आयल निगममा आगजनी गर्ने हल्ला चलेपछि केहिबेर अघिबाट त्यहाँ सेना पुगेर सुरक्षा दिन सुरु गरेको छ । नेपाली सेनाले विज्ञप्ति जारी गर्दै आजै राती १० बजेदेखि सुरक्षाका लागि परिचालन हुने सन्देश दिइसकेको छ ।
साथै, जेनजी समुहका युवाहरूले समेत आयल निगममा पुगेर सेनालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाटका घटना बढ्न थालेको भन्दै केहीबेर अघि विराटनगरको जेनजी समुहले विज्ञप्तिमार्फत त्यस्ता व्यक्तिको पहिचान गरी कारवाही गरिने चेतावनी दिएको छ ।
‘आन्दोलनका क्रममा कुनै पनि किसिमको चोरी, लुटपाट, आगजनी वा हिंसात्मक गतिविधिहरूमा हाम्रो संलग्नता छैन । बरु, हाम्रो जानकारीमा आएअनुसार विराटनगर बाहिरबाट आएको केही अराजक र अपराधिक समुहहरूले हाम्रो शान्तिपूर्ण आन्दोलनको आडमा यस्ता गैरकानुनी र विध्वंसात्मक गतिविधिहरू गरेको पाइएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘हामी आफ्नो प्रदर्शनलाई निरन्तरता दिंदै शान्तिपूर्ण रुपमा आफ्ना मागहरु राख्न प्रतिवद्ध छौं र कुनै पनि प्रकारका आपराधिक कार्यहरूमा समर्थन गर्दैनौं ।’
View : 468
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved