अन्तरवार्ता:
मो.साद कुरैशी
- अध्यक्ष, मोरङ जिल्ला क्रिकेट संघ
प्रतियोगिता तयारीको मुखमा हुनुहुन्छ, अहिलेसम्म कति तयारी पूरा भयो ?
फागुन २२ गतेदेखि प्रतियोगिता सुरु हुँदैछ । हामी अहिले तयारीको अन्तिम चरणमा छौं । पिच निर्माण भइसकेको छ । आउट फिल्डमा पनि बाँकी काम भइरहेको छ । ग्राउण्ड राम्रो बनेको छ । खेलाडीहरू आउने क्रम सुरु भएको छ । सोमबार सवै टिम विराटनगर आइसक्नुहुन्छ । प्रतियोगिता राम्रो गरी सुरु भएर सकिनेमा हामी विश्वस्त छौं ।
नेपालमा अहिले क्रिकेट खेललाई व्यापक मात्रामा दर्शकको साथ समर्थन रहेको छ, यो मैदानमा पनि दर्शकलाई ल्याई पुर्याउन कस्तो तयारी छ ?
दर्शकहरूका लागि हामीहरूले मिल्स एरियादेखि नै बस सेवा सञ्चालन गर्ने योजना बनाएका छौं । त्यहाँबाट चारवटा बसहरू सञ्चालन हुने कुरा भइसकेको छ । प्रचार–प्रसार पनि गरिरहेकोले दर्शकहरूलाई बैजनाथपुर रंगशाला आउनलाई संघकै तर्फबाट औपचारिक निम्तो पुगेको विश्वास गरेका छौं । ठाउँ–ठाउँमा होर्डिङ बोर्ड पनि लगाएका छौं । नेपालमा अहिले क्रिकेट खेल नै दर्शकको खेल भइरहेको छ । दर्शकलाई यो मैदान टाढा भए पनि उल्लेख्य सहभागिता हुने अपेक्षा गरेका छौं । हामीले मैदानमा तयारी गरिरहँदा समेत दैनिक रुपमा दर्शकहरू आएर जानकारी लिइरहनुभएको छ । प्रतियोगिताबारे चासो व्यक्त गर्नु भएकोले दर्शकको सहभागिता उत्साहपूर्ण हुने विश्वास गरेका छौं । महानगरपालिकासँग समन्वय गरेर तिनपैनीबाट समेत बस सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरिरहेका छौं । विराटनगर नै आइनपुग्ने दर्शकहरूका लागि दुईवटा टिभी च्यानलहरूबाट आठवटा क्यामेरामार्फत लाइभ पनि हुने भएकोले प्रतियोगिता विदेशका दर्शकले समेत हेर्ने अवसर पाउने छन् ।
प्रतियोगितालाई राष्ट्रिय स्तरकै बनाउन थप तयारी के के भइरहेका छन् ?
यो प्रतियोगितामा खेल क्षेक्रका धेरै व्यत्तित्वहरूको उपस्थिति रहनेछ । कोशी प्रदेशमा पहिलो पटक ठुलो प्रतियोगिता आयोजना भएकोले यसलाई राम्रो बनाउन सरोकारवाला सबैसँग समन्वय गर्ने काम गरिरहेका छौं । राम्रो प्रतियोगिता हुनेछ भन्ने विश्वस्त छौं ।
यत्रो प्रतियोगिताको तयारी भइरहँदा क्रिकेट संघका सबै पदाधिकारी सदस्यहरूको सक्रियता नदेखिएको कुरा आइरहेको छ नि ? एक आपसमा समन्वय नभएको कुरा आइरहेको छ, किन यस्तो भएको हो ?
त्यस्तो केही छैन । मोरङ जिल्लाका सबै पदाधिकारीहरूले सक्रिय रुपमा सहयोग गर्नु भएको छ । पूर्ण रुपमा खुल्ला दिलले सहयोग गर्नु भएको छ । दिनरात यो ग्राउण्ड बनाउनका लागि लाग्नु भएको छ । प्रदेशका साथीहरूले राम्रो गरी काम गरिरहनु भएको छ । यहाँ आएरै जानकारीहरू लिने काम गर्नु भएको छ । प्रदेशमा पाँच वटा जिल्ला रहेका क्रिकेट संघले बाराम्बर फोन गरेर चासो देखाइदिनु भएको छ । सबै एकसाथ भएर प्रतियोगिता सफल बनाउन लागेका छौं ।
View : 314
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved